भेजेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न सूचना दिनेलाई अमेरिकाले २५ मिलियन डलर इनाम दिने


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गर्न जानकारी दिने व्यक्तिका लागि २५ मिलियन डलरको इनाम घोषणा गरेको छ ।

यो घोषणा मदुरोले तेस्रो छ वर्षे कार्यकालका लागि शपथ ग्रहण गर्ने दिन गरिएको हो । बेलायतले पनि भेनेजुएलाका १५ केही उच्च अधिकारीहरू न्यायाधीशहरू, सुरक्षाकर्मीहरू, र सैनिक अधिकारीहरू माथि प्रतिबन्ध लगाएको छ ।

बेलायतको विदेश राष्ट्रमण्डल र विकास कार्यालयले ती व्यक्तिहरूलाई लोकतन्त्र कमजोर बनाउने, कानूनको शासन तोड्ने र मानव अधिकारको उल्लङ्घन गर्ने भनेर दोषी ठहर्याएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड लाम्मीले मदुरोको शासनलाई धोखाधडीपूर्ण भनेर टिप्पणी गरे । शुक्रबार युरोपेली संघले पनि भेनेजुएलामा लोकतन्त्र र कानूनको शासन पुनःस्थापना गर्ने कार्यमा प्रगति नदेखिएको भन्दै आफ्ना प्रतिबन्धात्मक उपायहरूलाई विस्तार गर्ने घोषणा गरेको छ ।

क्यानडाले पनि भेनेजुएलामा नयाँ प्रतिबन्ध लगाएको छ । विदेशमन्त्री मेलानी जोलीले मदुरोका निरंकुश क्रियाकलापहरूको विरोधमा यो कदम चालेको बताइन् ।

मदुरो र उनको सरकारले पश्चिमी मुलुकहरूले लगाएका धेरै आरोपहरूको बारम्बार खण्डन गरेका छन् । अमेरिकाको इनाम २०२० मा लागेका लागूपदार्थ र भ्रष्टाचारका अभियोगहरूमा आधारित छ ।

२०२० मा अमेरिकाले मदुरो र अन्य उच्च अधिकारीहरूलाई नार्को आतङ्कवादको अभियोग लगाएको थियो । शुक्रबार राष्ट्रपति मदुरोले पदको शपथ लिँदै आफ्नो तेस्रो कार्यकाललाई शान्तिको अवधि हुने वाचा गरेका छन ।

२८ जुलाईको चुनाव परिणाम अन्तर्राष्ट्रिय समुदाय ब्राजिल र कोलम्बियाले अस्वीकार गरेका थिए । मदुरोसँग अझै इरान, चीन र रुसजस्ता केही सहयोगी देशहरू छन् । तर उनी विश्व मंचमा थप एक्लिएका छन् ।

६२ वर्षीय मदुरोलाई गत जुलाईको राष्ट्रपति चुनावमा विजेता घोषणा गरियो । तर विपक्ष र धेरै देशहरूले परिणाम अस्वीकार गर्दै निर्वासित विपक्षी उम्मेदवार एडमुन्डो गोंजालेजलाई वैध राष्ट्रपति निर्वाचितका रूपमा मान्यता दिएका छन् ।

गोंजालेज सेप्टेम्बरमा भेनेजुएलाबाट भागेर स्पेनमा बसोबास गरिरहेका छन् । यो महिनामा उनले अमेरिकी देशहरूको समर्थन जुटाउन दौडधुप गरिरहेका छन् ।

मदुरो सरकारले उनका लागि गिरफ्तारी वारंट जारी गरेको छ । उनलाई पक्रन सहयोग गर्ने जानकारी दिने व्यक्तिका लागि १ लाख डलरको इनाम घोषणा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com