आफनो पानी क्षेत्रमा अड्किएको तेल ट्यांकर रसियाको भएको जर्मनीको भनाई


प्रकाशित मिति : पुस २८, २०८१ आईतबार

जर्मनीका अधिकारीहरूले जर्मन पानी क्षेत्रमा अड्किएको तेल ट्यांकर रसियाको छायाँ बेडा मा पर्ने बताएका छन् । जसलाई जर्मनीले प्रतिबन्धबाट जोगिन रुसले प्रयोग गरेको आरोप लगाएको छ ।

जर्मनीको समुद्री प्राधिकरणले पानामाको झण्डा रहेको इभेन्टिन नामक जहाजले शक्ति र सन्चालन गुमाएको थियो । जसका कारण जहाजलाई सुरक्षित राख्न टगबोटहरू खटाइएको थियो ।

जर्मन विदेशमन्त्री एनालेना बेरबकले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध चक्मा दिने र खिया लागेको ट्यांकरहरूको प्रयोग गरेर युरोपको सुरक्षा खतरामा पार्ने गरेको आरोप लगाइन्।

इभेन्टिन ट्यांकर २७४ मिटर लामो र ४८ मिटर चौडा छ । यसले करिब ९९ हजार टन तेल बोकिरहेको छ । यो बाल्टिक समुद्रको तटीय पानीमा जर्मन टापु रुगनको उत्तरतर्फ कम गतिमा छ ।

शुक्रबार राति हेलिकप्टरबाट चार सदस्यीय विशेष टोली जहाजमा झारेर टगिङ प्रणाली स्थापना गरिएको थियो । तीनवटा टगबोटहरूले नचल्ने स्थितिमा रहेको जहाजलाई नियन्त्रणमा लिए । अधिकारीहरूले तेल चुहावट नभएको पुष्टि गरेका छन् ।

पानामाको झण्डा बोकेको भए पनि जर्मन अधिकारीहरूले यस घटनाका लागि रसियालाई दोष दिएका छन् ।

युरोपेली संघले रसियाको छायाँ बेडालाई लक्षित गरी सुरक्षा र वातावरणीय खतराको आरोप लगाउँदै थप प्रतिबन्धको तयारी गरिरहेको छ ।

अटलान्टिक काउन्सिलका अनुसार, रसिया यस्तो छायाँ बेडा प्रयोग गर्दैछ जसले तेल निर्यातको लागि प्रमुख माध्यमको रूपमा काम गर्दछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com