अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीमाथि कारवाही, इजरायल विरोधी प्रर्दशनमा सहभागि भएको आरोप
प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयले इजरायल विरोधी प्रर्दशनका क्रममा क्याम्पसको भवनमा क्षति पुराउने विद्यार्थीहरुलाई निष्कासन गरेको छ ।
केहि विद्यार्थी निलम्वनमा परेका छन भने केहिलाई निष्कासन गरिएको छ । गत वर्ष उक्त विश्वविद्यालयमा इजरायल विरोधी प्रर्दशन भएको थियो ।
इजरायलविरोधी प्रर्दशनमा सहभागि भएकालाई कारवाही नगरेको भन्दै ट्रम्प प्रशासनले विश्व विद्यालयलाई दिएको ४०० मिलियन डलर भन्दा बढीको संघीय अनुदान फिर्ता लिएको छ ।
यहूदी विद्यार्थीहरूमाथि निरन्तर उत्पीडन भइरहदा विश्वविद्यालयले नजरअन्दाज गरेको ट्रम्प प्रशासनको आरोप रहेको छ ।
कोलम्बिया विश्वविद्यालयको न्यायिक बोर्डले आक्रमणमा सम्लग्न विद्यार्थीहरु मध्ये केहिलाई सम्बन्धित बहुवर्षीय निलम्बन, अस्थायी डिग्री रद्दीकरण र निष्कासन गरिएको बताएको छ ।
कोलम्बिया विश्वविद्यालयको प्रशासनका अनुसार यी दण्डहरू विद्यार्थीहरुले गर्ने अपील अवधि समाप्त भएपछि लागू हुनेछन् । कारवाहीमा परेका विद्यार्थीहरुको संख्या विश्वविद्यालयले खुलाएको छैन ।
कोलम्बिया विश्वविद्यालय अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो । यसमा लगभग ३० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।