अमेरिकी विमानमा अचानक आगलागी, विमानमा सवार सबै १७८ जना सुरक्षित
प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको एउटा विमानको इन्जिनमा अचानक आगो लागेको छ ।
विमानको इन्जिनबाट कालो धुंवा निस्किरहेको देखेपछि यात्रुहरुको विमानभित्रै भागदौड मच्चिएको थियो ।
केहि यात्रुहरु पखेटामा उभिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा विमानको तलको भागमा आगो र कालो धुवाँ फैलिएको देखिन्छ ।
डलास फोर्टवर्थ जानको लागि कोलोराडो स्प्रिङ्सबाट उक्त विमान उडेको थियो । विमानमा १७२ यात्रु र ६ चालक दलका सदस्य थिए ।
यो विमान बिहिबार साँझ सवा ५ बजे डेनभर विमानस्थलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।
विमानका पाइलटले डेनभरको एयर ट्राफिक कन्ट्रोललाई अवतरण अघि इन्जिनको समस्या बारे जानकारी दिएका थिए ।
डेनभर फायर डिपार्टमेन्टका अनुसार १२ जना यात्रुलाई सामान्य घाइतेको अवस्थामा अस्पताल लगिएको थियो।
यो घटना तीन हप्ता पहिले भएको डेल्टा एयरलाइन्सको विमान दुर्घटनासँग मिल्दोजुल्दो छ ।
संघीय उड्डयन प्रशासनले अमेरिकन एयरलाइन्सको उडान १००६ लाई बिहीबार साँझ डाइभर्ट गरिएको र डेन्भर अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताएको छ ।
टोरन्टो पियरसन अन्तर्राष्ट्रिय एयरपोर्टमा आकाशमा उल्टो परेर उक्त विमानमा आगो लागेको थियो ।
केही महिनाअघि अलास्का, फिलाडेल्फिया र वासिङ्टन डीसीमा भएका विमान दुर्घटनाहरूको कारण धेरैको ज्यान गएको थियो ।