अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई एल साल्भाडोरको कारागारमा पठायो
प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकाले भेनेजुएलाका २०० भन्दा बढी व्यक्तिहरूलाई देश निकाला गरेको छ । उनीहरुलाई गिरोहका सदस्यको आरोप लगाइएको छ । पक्राउ गरिएपछि उनीहरूलाई एल साल्भाडोरको सुपरम्याक्स कारागारमा बन्दी बनाइएको छ ।
अमेरिकी न्यायाधीशले निर्वासनहरूमा रोक लगाएका भएपनि सरकारले भने २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई निर्वासित गरेको हो ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले २३८ जना भेनेजुएला को गिरोह ट्रेन डे अरागुआका सदस्य र अन्तर्राष्ट्रिय एम १३ गिरोहका २३ जना अल सल्भाडोर आएका जानकारी दिएका छन ।
अमेरिकी सरकार र एल साल्भाडोरले गिरफ्तार गरिएका व्यक्तिहरूको पहिचान भने गरेका छैनन । तिनीहरूको आरोप , अपराध वा गिरोह सदस्यता बारे कुनै विवरण उपलब्ध गराइएको छैन ।
संघीय न्यायाधीशको आदेशले ट्रम्प प्रशासनलाई केही निर्वासनलाई सही ठहराउन १७९८ को युद्धकालीन कानूनको प्रयोग गर्न रोक लगाएको थियो । तर निर्वासित गरिएका मानिसहरु राखिएका उडानहरू पहिले नै एल साल्भाडोर पुगेका थिए ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारीलिन लेभिटले न्यायालयको आदेश उल्लंघन नगरेको बताइन् । ट्रेन डे अरागुआ आतंकवादीहरूलाई अमेरिकी भूमिबाट हटाएपछि यो आदेश आएको उनले बताइन ।
न्याय मन्त्रालयले न्यायाधीशको निर्णयविरुद्ध अपील गरेको छ। अमेरिकी नागरिक स्वतन्त्रता संघले अदालतको आदेश उल्लंघन भएको हुनसक्ने बताएको छ । यो संघले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो ।
भेनेजुएलाले ट्रम्पको Alien Enemies Act प्रयोगको आलोचना गरेको छ । अधिकार समूहहरूले ट्रम्पको निन्दा गर्दै २२७ वर्ष पुरानो कानूनलाई प्रयोग गरेर आफ्नो लक्ष्य पूरा गर्न खोजेको आरोप लगाए।
राष्ट्रपति बुकेले उनीहरूलाई एक वर्षको अवधिका लागि थुनेर राखिने बताए । उनले यो नवीकरण पनि हुनसक्ने बताए । एल साल्भाडोर को जेल बुकेले अपराध नियन्त्रण गर्ने अभियानको हिस्सा हो ।
यो नयाँ बनाइएको उच्च सुरक्षा सुविधा सहितको छ । यसमा ४० हजार जना सम्म राख्न सकिन्छ । मानव अधिकार समूहहरूले त्यहाँ कैदीलाई दुर्व्यवहार हुने गरेको आरोप लगाउदै आएका छन ।