अमेरिकी परामर्शमा इजरायलले गर्यो गाजामा घातक आक्रमण, मन्त्रीसहित १३० जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

इजरालयले गाजा क्षेत्रमा गरेको घातक आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा १३० प्यालेन्टाइन मारिएका हुन ।

गाजामा आन्तरिक मामिला मन्त्रालयका उपमन्त्री र त्यस क्षेत्रका उच्चतम सुरक्षा अधिकारी महमूद अबु वाफा पनि इजरायलको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली रक्षा सेना आइडीएफ ले हमाससँग सम्बन्धित आतंकी लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ ।

यो गाजामा युद्धविरामको सुरुआतपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविरामको अवधि बढाउने वार्ता असफल भएपछि इजरायलले सबैभन्दा ठूलो हमला गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणको बेला धेरै मानिसहरू रमजानको महिनामा बिहानको भोजन गरिरहेका थिए । २० भन्दा बढी इजरायली युद्धक विमानले गाजा, राफा र खान युनिसमा एकैसाथ हमला सुरु गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री इस्राइल काट्जले मङ्गलबार बिहान हवाई आक्रमणको आदेश दिएका थिए ।

अमेरिकी राष्ट्रपति विशेष दूत स्टीभ विट्कफ र मध्यस्थहरूले दिएका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको र बन्धकहरुलाई रिहा नगरेका कारण हमला गरिएको इजरायलले बताएको छ ।

हमासले यो आक्रमणको कडा विरोध गर्दै इजरायललाई युद्धविराम सम्झौतामा धोका दिएको आरोप लगाएको छ ।

तर, हमासले युद्ध पुनः सुरु गर्ने घोषणा भने गरेको छैन । उसले बरु मध्यस्थहरू र संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आह्वान गरेको छ ।

इजरायलले हवाई आक्रमण गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसका प्रवक्ताले जानकारी दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com