इजरायली हमलामा परेर मृत्यु हुने प्यालेस्टिनीको संख्या कम्तीमा २२० पुग्यो,मन्त्री पनि मारिए


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलामा परेर मृत्यु हुनेको संख्या एकजना मन्त्री सहित कम्तीमा २२० जना पुगेको छ ।

इजरायली सेनाको दावी अनुसार गाजामा आन्तरिक मामिला मन्त्रालयका उपमन्त्री र त्यस क्षेत्रका उच्चतम सुरक्षा अधिकारी महमूद अबु वाफा पनि इजरायलको हवाई आक्रमणमा मारिएका छन् । यर यसको हमासले पुष्टि गरेको छैन ।

इजरायली रक्षा सेना आइडीएफ ले हमाससँग सम्बन्धित आश्रयस्थलहरूलाई निशाना बनाइएको बताएको छ ।

यो गाजामा युद्धविरामको सुरुआतपछि भएको सबैभन्दा ठूलो हवाई घातक आक्रमण हो । गाजामा युद्धविरामको अवधि बढाउने वार्ता असफल भएपछि इजरायलले सबैभन्दा ठूलो हमला गरेको हो ।

२० भन्दा बढी इजरायली युद्धक विमानले गाजा, राफा र खान युनिसमा एकैसाथ हमला सुरु गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री इस्राइल काट्जले मङ्गलबार बिहान हवाई आक्रमणको आदेश दिएका थिए ।

अमेरिकी राष्ट्रपति विशेष दूत स्टीभ विट्कफ र मध्यस्थहरूले दिएका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको र बन्धकहरुलाई रिहा नगरेका कारण हमला गरिएको इजरायलले बताएको छ ।

इजरायलले हवाई आक्रमण गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसका प्रवक्ताले जानकारी दिएका छन् ।

हमासले यो आक्रमणको कडा विरोध गर्दै इजरायललाई युद्धविराम सम्झौतामा धोका दिएको आरोप लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com