टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको टेलिफोन वार्ता, विपिन जोशीको रिहाइको पहल


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन् ।

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

टेलिफोन वार्ताका क्रममा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।

उनीहरुबीच आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै पारस्परिक सम्बन्ध विस्तारबारे पनि विचारविमर्श भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com