इजरायलले विद्यालयमा गरेको आक्रमणमा २७ जनाको मृत्यु
प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

इजरायलले गाजामा रहेको विद्यालयमा हवाई हमला गरेको छ । गाजा सिटीको उत्तरी भागको एक विद्यालयमा इजरायलले गरेको हमलामा कम्तीमा २७ प्यालेस्टिनीहरुको मृत्यु भएको छ ।
उक्त विद्यालय विस्थापित परिवारहरूको लागि शेल्टरको रूपमा प्रयोग गरिँदै आएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । हमलामा दर्जनौ घाइते भएका छन । गाजा सिटीको उत्तरी पूर्वी तुफ्फाह क्षेत्रमा रहेको दार अलअरक़ाम स्कूलमा हमला गरीएको हो ।
इजरायली सैनिकहरूले गाजा सिटीको प्रमुख आतंकवादीलाई लक्षित गरी हमला गरिएको बताएका छन । हमासको कमान्ड र कन्ट्रोल केन्द्रमा सक्रिय रहेकालाई लक्षित गरिएको इजरायलले बताएको छ ।
गाजा स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली हमलामा परेर अरु ९७ जनाले ज्यान गुमाएका बताएको छ । हमासको सिभिल डिफेन्स एजेन्सीका प्रवक्ताले दार अल अरक़ाम विद्यालयमा मारिएका व्यक्तिहरू बालबालिका र महिलाहरू रहेको बताएका छन ।
गाजा स्वास्थ्य मन्त्रालयले त्यहाँ १ हजार १६३ भन्दा बढी मानिसहरु यसै अवधिमा इजरायली हमलामा मारिएका छन् । जसमा ३०० भन्दा बढी त बालबालिका छन् ।
गाजा सिटीको गुईजा क्षेत्रबाट १ लाख भन्दा बढी प्यालेस्टिनीहरु पश्चिमी गाजा सिटीतर्फ भागेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा सिटीको राफाह र खान युनिस बीचको सैन्य करिडोर स्थापना गर्ने योजनाको घोषणा गरेका छन् ।
हामासले नयाँ युद्धविरामको प्रस्तावलाई वेवास्ता गर्ने अनुमान गरिएको थियो । तर कतार र इजिप्टले प्रस्ताव गरेको ५० दिने युद्धविरामको योजनालाई हमासले स्वीकार गरेको छ ।
इजरायली सेनाले प्यालेस्टाइन उद्धार कर्मचारीहरूको हत्यामा आफ्नो अनुसन्धान शुरु गरेको बताएको छ । २३ मार्चमा राफाह क्षेत्रमा १५ जना आपतकालीन कर्मचारीहरू मारिएका घटना बाहिर आएका थिए ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म इजरायली हमलामा परेर गाजा क्षेत्रमा ५० हजार ५२० भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ ।