अमेरिकाको दक्षिणी क्षेत्रमा आँधी, कम्तीमा ७ जनाको ज्यान गयो


प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधी र तीब्र हावाका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । आँधी अझै केहिदिन कायम रहने बताइएको छ ।

बुधबार र बिहीबार पश्चिमी टेनेसी, मिसुरी र इन्डियाना राज्यहरूमा ती व्यक्तिहरुको मृत्यु भएको हो । आँधी प्रभावित क्षेत्रहरुमा घरहरू भत्किएका छन ।

आँधीले कतिपय घरका छाना धेरै टाढासम्म उडाएको थियो । नेशनल वेदर सर्भिसले आँधीसँगै बाढीको पनि चेतावनी दिएको छ । मृतकको संख्या पनि बढ्नसक्ने वेदर सर्भिसले बताएको छ ।

टेक्सासदेखि पेनसिल्भेनिया सम्मका क्षेत्रमा चेतावनीहरु जारी गरिएका छन । यो आँधीले शनिबारसम्म बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै मौसम विभागले पूर्व सुचना गरिएको बताएको हो ।

टेनेसी, लुइसियाना र वेस्ट भर्जिनियाको केही भागमा बिहिबार आँधीको चेतावनी जारी भएको थियो । अर्कान्सस, म्याहसीपी, केन्टकी र टेनेसीका केही भागमा निगरानी जारी गरिएको थियो।

मिसिसिपी, टेनेसी र केन्टकीमा पनि अचानक बाढीको संभावना रहेको छ । त्यहाँ आपतकालीन अवस्था घोषणा गरिएको छ । वेस्ट भर्जिनियामा पनि जोखिमको अवस्था रहेको अधिकारीहरुले बताएका छन ।

प्रारम्भिक नेशनल वेदर सर्भिसले टेनेसीको दक्षिण पश्चिमी क्षेत्रमा १६० माइल प्रति घण्टाको गतिले हावा चल्ने अनुमान गरिएको छ । टेनेसीका गभर्नर बिल लीले कम्तीमा आफनो राज्यमा पाँच जनाको मृत्यु भएको बताएका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसीको लागि आपतकालीन घोषणा स्वीकृत गरेका छन् । यो स्वीकृतिले संघीय सहयोगको बाटो खोल्छ । मिसुरीका गभर्नर माइक डिहोले राज्यका नेशनल गार्डको सहयोग प्राप्त गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

मिसुरी हाइवे पेट्रोलका सर्गेन्ट क्लार्क पेरोटले राज्यको दक्षिण पूर्वी भागमा कम्तीमा एक जनाको मृत्यु भएको बताए ।

यी क्षेत्रहरू मार्चको मध्यमा आएको घातक जंगली आगो र धूलो आँधीबाट कम्तीमा ४० जनाको ज्यान गएको थियो। धेरै मानिसहरुलाई प्रभावित बनाएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com