अमेरिकी नागरिकता प्राप्त गर्नको लागि झूठ बोलेको आरोपमा पक्राउ


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

हत्याकाण्डको संलग्नता लुकाएर नागरिकता लिन खोजेको आरोपमा अमेरिकामा एकजना पक्राउ परेका छन ।

न्यूयोर्कका ६५ वर्षीय पुरुष फाउस्टिन न्साबुमुकुन्जीलाई पक्राउ गरिएको हो ।

उनी १९९४ को रुवाण्डामा भएको नरसंहारमा आफ्नो संलग्नता लुकाएर अमेरिकी नागरिकता प्राप्त गर्न खोजेको आरोपमा पक्राउ परेका हुन ।

उनी २० वर्षभन्दा बढी समयदेखि न्यूयोर्कको लङ आइल्याण्डमा बसिरहेका थिए ।

अमेरिकी अभियोजकका अनुसार न्साबुमुकुन्जीले २००३ मा शरणार्थीको रूपमा अमेरिका प्रवेश गर्नका लागि आवेदन दिएका थिए ।

२००७ मा ग्रीन कार्ड प्राप्त गरेका थिए । तर उनले आप्रवासन फारमहरूमा नरसंहारमा संलग्न नरहेको झूठो जानकारी दिएका थिए।

अभियोजकहरूले न्साबुमुकुन्जीलाई रुवाण्डाको किबिरिजी क्षेत्रमा स्थानीय नेता भएको र उनले तुत्सीहरूलाई सुरक्षा दिने झूठो आश्वासन दिँदै तिनीहरूलाई आक्रमण गर्न उक्साएको आरोप लगाएका छन् ।

उनी २००८ मा रुवाण्डामा गैरहाजिरमा नरसंहारको अभियोगमा आजीवन कारावासको सजाय पाएका थिए। अप्रिल २०२५ मा पक्राउ परेका न्साबुमुकुन्जीले पक्राउ गर्दा आफु समाप्त भएूँ भन्ने प्रतिक्रिया दिएका थिए ।

अमेरिकी अधिकारीहरूले न्साबुमुकुन्जीको शरणार्थी र नागरिकता आवेदन प्रक्रियामा गरेको धोखाधडीलाई गम्भीर अपराधको रूपमा लिएका छन् ।

अमेरिकी न्याय विभागका अधिकारी म्याथ्यू आर गैलेओटीका अनुसार उनी विदेशी भूमिमा क्रूर हिंसामा संलग्न थिए र त्यसपछि ग्रीन कार्ड प्राप्त गर्न र अमेरिकी नागरिकता प्राप्त गर्नको लागि झूठ बोलेका थिए।

यस घटनाले आप्रवासन प्रक्रियामा पारदर्शिता र सत्यता सुनिश्चित गर्नको लागि थप कडाइका साथ अनुगमनको आवश्यकता औंल्याएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com