चुनावी अभियानका ठगी गरेको आरोपमा अमेरिकी पुर्व सांसदलाई ७ वर्षको जेल सजाय
प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकाका पूर्व सांसद जर्ज सान्तोसलाई सात वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । उनीमाथि २०२२ को मध्यावधि चुनावी अभियानका क्रममा ठगी र पहिचान चोरीका आरोप लगाइएको थियो ।
सान्तोसले गत वर्ष अगस्टमा संघीय वायर फ्रड र गम्भीर पहिचान चोरीको आरोप स्वीकारेका थिए।
सजाय सुनाउने क्रममा उनले अदालतमा आँसु झार्दै आफ्नो गल्ती स्वीकार्दै माफी मागेका थिए । तर जज जोआना सेयबर्टले उनलाई अहंकारी ठग भन्दै गम्भीर आलोचना गरेका थिए ।
सान्तोसले आफ्नो चुनावी अभियानका लागि दाताबाट पैसा संकलन गर्दा अरूको पहिचान चोरी गरेर फर्जी विवरण दिएका थिए ।
उनले आफ्ना परिवारका सदस्यहरूको समेत पहिचान प्रयोग गरेर दान गरेको स्वीकारेका छन् । अदालतले उनलाई ३७३,००० डलरको पुनः भुक्तानी र २००,००० डलर जफत गर्न आदेश दिएको छ।
सान्तोसले आफ्नो सजायलाई राजनीतिक प्रभाव भएको दाबी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफीको आग्रह गरेका छन् ।
सान्तोसले अदालतमा आफ्नो अपराध स्वीकार गर्दै “मैले मेरो समर्थक र मतदाताको विश्वासघात गरेको छु । म यो अनुभवबाट सिक्न र सुधार गर्न प्रतिबद्ध छु ” भनेका थिए ।
अदालतका न्यायाधीश जोआना सिबर्टले सान्तोसको पछिल्लो व्यवहारलाई ध्यानमा राख्दै उनलाई २०२५ को जुलाई २५ मा जेलमा आत्मसमर्पण गर्न आदेश दिइन् ।
सान्तोसको यो सजाय अमेरिकामा सार्वजनिक पदमा रहेका व्यक्तिहरूद्वारा गरिएका भ्रष्टाचार र धोखाधडीको विरुद्धको कडा संदेशको रूपमा लिइएको छ।
तर उनले माफीको औपचारिक निवेदन दिएका छैनन्। उनले आफ्नो जेल सजाय जुलाई २५ सम्म बुझाउनुपर्नेछ।
सान्तोसको राजनीतिक करियर २०२२ मा न्यूयोर्कको क्वीन्स र लङ आइल्याण्डका केही भागका प्रतिनिधिको रूपमा सुरु भएको थियो ।
तर, उनका जीवनका धेरै विवरण झूठा प्रमाणित भएपछि उनी २०२३ डिसेम्बरमा प्रतिनिधि सभा सदस्यबाट निष्कासन भए । उनको यो गिरावटले अमेरिकी राजनीतिमा ठूलो चर्चा पाएको छ ।