पाँच वर्षमा एक लाख मानिसलाई कुकुरले टोक्यो
प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार
राजधानीमा कुकुरले टोकेका बिरामीको सङ्ख्या आश्चर्यजनक छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा मात्र विगत पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी मानिस कुकुरले टोकेर उपचार गर्न आएका छन् ।
अस्पतालका अनुसार २०६८ सालदेखि ०७२ सम्म एक लाख एक हजार ९०३ जनालाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । निजी अस्पताल र क्लिनिकमा उपचार गराउनेको सङ्ख्या छुट्टै छ ।
२०६८ सालमा मात्र १४ हजार १५६ जना बिरामी एन्टिरेविज भ्याक्सिन लगाउन आएका थिए । यस्तै २०६९ मा १५ हजार ८४७ जनाले भ्याक्सिन लगाएका छन् । अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार यो सङ्ख्या घरपालुवा कुकुरले भन्दा भुस्याहा कुकुरले टोकेर भ्याक्सिन लगाउन आउने व्यक्तिको हो ।
पुनले २०७० सालमा २०६९ भन्दा बढेर १८ हजार चार पुगेको जानकारी दिए । यसैगरी २०७१ मा अघिल्लो वर्षको तुलनामा छ हजारले बढेर उक्त सङ्ख्या २४ हजार दुई सय ३४ मा पुगेको छ । २०७२ मा भने भुस्याहा कुकुरले टोकेका पीडित २१ हजार ४३४ रहेको छ । डा. पुनका अनुसार २०७३ वैशाखदेखि साउनसम्ममा आठ हजार २२८ जनालाई भुस्याहा कुकुरले टोकेको छ ।
डा. पुनका अनुसार हाल शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी व्यक्ति कुकुरले टोकेर उपचारका लागि आउने गरेका गोरखापत्रमा खबर छ । भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिन काठमाडौँ महानगरपालिकाले बन्ध्याकरण (स्थायी परिवार नियोजन) अभियान सुरु गरे पनि कुकुरले टोकेका व्यक्तिको सङ्ख्या कम हुन नसकेको डा. पुनको भनाइ छ ।
पुनका अनुसार साउन महिनामा मात्र एक हजार ९३१ जनाले एन्टिरेविज भ्याक्सिन लगाएका छन् । अस्पतालमा सयभन्दा बढी व्यक्ति कुकुरको टोकाइबाट आउने गरेको जानकारी दिँदै पुनले भने, ;ती सबैलाई भ्याक्सिन लगाउनुपर्ने अवस्था हुँदैन ।’