पत्रकारलाई दालभातको चारो : डिनरमै बिक्छन् नेपाली पत्रकार ?


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

– ध्रुबराज अर्याल

लण्डन । शनिबारको दिन दिउंसोको समय । मोबाइलमा सेभ नरहेको नयां नम्बरबाट फोन आयो । रिसिभ गरेपछि थाहा भयो, आइतबारको दिन आयोजना हुन लागेको एक पत्रकार सम्मेलनका लागि निम्तोको फोन पो रहेछ ।

सामन्यतया कुनै पनि कार्यक्रमका लागि यति छोटो समय राखेर निम्तो गर्दैनन् आयोजकहरु र गरिहाले पनि उनीहरुको मन राख्न सक्ने अवस्था लगभग रहदैन नै । विशेषत विकेण्डमा धेरै कार्यक्रमहरु आयोजना हुने भएकाले हरेक शनिबार, आइतबारमा कार्यक्रमको निम्तो नै नभएको त विरलै हुन्छ । त्यसैले पनि कसैले आज बोलाउंदैमा भोली पुगिहाल्न सम्भव हुंदैन । विशेष महत्वको कुनै कार्यक्रम भए बेग्लै कुरा ।

निम्तो दिने महासयसंग केहि मिनेट कुरा भयो । संयोगले उनले निम्तो गरेको दिनको लागि अन्त खासै ठूलो कार्यक्रम पनि थिएन । त्यसैले फोन राख्नै लाग्दा भने, भोलीकै रहेछ कार्यक्रम, पहिला थाहा भएन । तैपनि म कोशिस गर्छु । सम्भव भए आउंला , नभएपनि फोनमा कुरा गरेर समाचार पक्कै बनाउंला ।

यो आश्वासन दिइरहदासम्म मलाई लागिरहेको थियो, हेरौंला नि, जांगर चल्यो भने जाउंला । उनको कार्यक्रम छुट्नै नहुने खालको जस्तो महत्वपुर्ण भने थिएन ।
मेरो जवाफबाट आधा खुशी आयोजकले फोन राख्दै भने, हुन्छ, सकेसम्म आइदिनुभयो भने राम्रो हुन्थ्यो । डिनरको पनि व्यवस्था छ ।

उनको यो अभिव्यक्तिले उनीसंग मलाई नराम्रोसंग चिढायो । एकछिन अघिसम्म विचार गरौंला भन्ने मुडमा रहेको म अब भने ढुक्क भए कि मलाई जांगर चल्नेछैन र म त्यो कार्यक्रममा पक्कै जानेछैन । आफ्नो पत्रकार सम्मेलनमा मलाई आउने बनाउनका लागि उनले डिनरको अस्त्र प्रयोग गरेको बुझ्दा मलाई उनीदेखि रिस मात्र उठेन, उनको संिकर्ण सोेंचप्रति धेरै घिन लाग्यो र उनीमाथि दया पनि ।

पूर्वी लण्डनमा मेरो बसोबास छ भन्ने कुरा मैले संवादकै क्रममा ती आयोजकलाई बताइसकेको थिएं । उनको कार्यक्रम पश्चिम लण्डनमा । यसको मतलब मलाई त्यो कार्यक्रमस्थलमा पुग्न मात्रै कम्तीमा डेढ देखि दुई घण्टा लाग्छ । आइतबारको दिन रेल पनि अझै ढिलो सर्भिस हुने हुनाले त्यो समय बढ्न सक्छ । जान आउनकै लागि ४ घण्टा, फेरि त्यो कार्यक्रम पनि केहि घण्टा त चल्ने नै भयो । यसो गर्दा त्यो कार्यक्रममा जानु भनेको मेरो लागि पूरा एक दिनको लगानी थियो ।

समयको मात्र कुरा थिएन त्यहां । रेलमा आहोर दोहोर गर्दा कम्तीमा पनि १२, १५ पाउण्ड नलाग्ने कुरै थिएन ।

बेलायत जस्तो ठाउंमा एउटा पूरै सिंगो दिन बिताएर, रेलको महंगो भाडा समेत खर्च गरेर म त्यो कार्यक्रममा यदि पुगेको हुन्थे त, केवल रिपोर्टिंगको लागि । मैले कुनै रेष्टुरेन्टको बफेटमा राखेको भात र दुई चोक्टा चिकेनसंगको झोल खान पूरा एक दिन बिताएर किन जान्थे होला ? मैले उनको कार्यक्रममा जान आउनकै लागि लाग्ने रेलको भाडा बराबरको पैसा खर्चिने हो भने उनले खुवाउने भन्दा दुई गुणा बढि राम्रो खाना आफैले किन्न सक्थे । घामजस्तै छर्लंग यस्तो कुरा पनि के ती आयोजकले सांच्चीकै नबुझेका होलान् त ? यदि बुझेका हुन्थे भने फेरि मसंग किन डिनरको च्याखे थापे होलान् त ?

यी आयोजक र म दुवै प्रतिनिधी पात्र हौं । बेलायतमा क्रियाशिल सबै नेपाली पत्रकार तथा मिडियाकर्मीहरुलाई कार्यक्रममा बोलाउंदा डिनरको व्यवस्था छ है भन्न नछुटाउने धेरै आयोजकहरु छन् । अधिकांश कार्यक्रमहरुको निम्तोमा डिनरको पुच्छर अब त कसैगरी नछुट्याउने प्रचलन बनेको छ समुदायमा ।

कुनै पनि कार्यक्रमका लागि आफ्नो र आफु कार्यरत मिडियाको महत्व सम्झिएर आमन्त्रण गर्ने सबै आयोजकहरुसंग स्वभाविकतः खुशी लाग्छ नै । तर डिनरको लोभ देखाएर कार्यक्रममा बोलाउन खोज्ने संिकर्ण मानसिकताप्रति भने धेरै घृणा र दया जाग्दो रहेछ ।

बेलायतको नेपाली समुदायमा आयोजना हुने धेरै कार्यक्रमहरु लण्डनबाहिरको अल्डरसट क्षेत्रमा आयोजना हुने गर्छन् । जहां कुनै रिपोर्टिंगको लागि पुग्ने हो भने त्यो दिन त्यसमै बित्छ नै । त्यसमाथि त्यहांसम्म पुग्ने रेलको भाडा वा गाडीको तेल पनि झन महंगो हुने नै भयो । लण्डनभित्रै पनि एक कुनाबाट अर्को कुनासम्म पुग्न समय र पैसा दुवैको हिसाबले निकै अफ्ठेरो छ ।

अझ बेलायतमा सक्रिय रहेका अधिकांश पत्रकारहरुको पत्रकारिता स्वयमसेवा जस्तै छ । महिना सकिंदा तलब खाने पत्रकारको संख्या नगण्य जस्तै छ । कुनै एक पत्रकारले रिपोर्टिंग गर्न नगएर त्यो दिन अन्तै कतै काम गर्न गयो भने पनि राम्रो पैसा कमाउन सक्थ्यो होला । तर यी सबै छोडेर यति ठूलो समय र पैसाको समेत लगानी गरेर रिपोर्टिंगमा हिड्ने पत्रकारलाई दालभातको चारो फ्याकेर उपयोग गर्न खोज्नु उनीहरुको अपमान होइन र ?

कुनै आयोजकले कार्यक्रम आयोजना गर्दा पत्रकारलाई आमन्त्रण गर्नु सामान्य हो । सम्भव भएसम्म पत्रकारहरु पनि पुगेको, रिपोर्टिंग गरेको पनि राम्रो । तर यसरी रिपोर्टिंगका लागि आमन्त्रण गर्दा अरु सबै छोडेर डिनरकै व्यवस्थालाई हाइलाइट गर्नु के जरुरी छ ? बेलायतजस्तो ठाउंमा एक छाक खानको लागि पूरा दिन खर्चेर, महंगो यातायात भाडा तिरेर कोहि पुग्छ होला ? दुई पाउण्डमा भोक मरुञ्जेल खान पुग्ने चिकन पाइन्छ यहां । भोक लाग्दा खानेकुरा जुटाउन नसक्ने अवस्थामा कोहि हुंदैनन् ।

विभिन्न प्रतिकुलकाबीच पनि स्वयमसेवी जस्तै बनेर मिडियाकर्ममा खटिएका उनीहरुले जति सकेका छन्, समुदायको लागि दिएकै छन् । आफ्नो व्यक्तिगत लाभ वा स्वार्थका लागि उनीहरुले समुदायबाट के लिएका छन् ? एकपटक सबैले सोंच्नुपर्नेछ ।

त्यसैले सकिन्छ भने समुदायको हितका लागि क्रियाशिल पत्रकार तथा मिडियाकर्मीहरुलाई सम्मान गर्न सिकौं, सकिदैन भने पनि अपमान नगरौं । कमसेकम कार्यक्रममा आमन्त्रण गर्दा डिनरको व्यवस्था छ भनेर सर्किंणता नदेखाऔं ।

(अर्याल नेपालीपत्रका बेलायत सम्पादक हुन् ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com