लोकमानको नियुक्ति फाइल सरकारले सर्वोच्चलाई बुझायो
प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार
हराएको भनिएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल सरकारले सर्वोच्च अदालतमा बुझाएको छ । संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो । सो फाइल मन्त्रिपरिषद्को कार्यालयमा भेटिएको बताइएको छ ।
मन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल प्राप्त भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जाकारी दिए । संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो । लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चले नियुक्तिको फाइल सरकारसँग मागेको थियो ।
तर, सरकारले भूकम्पका कारण कार्यालय सर्नु परेको भन्दै हराएको जवाफ पठायो । लगत्तै सर्वोच्चले यसलाई गैरजिम्मेवार जवाफ भन्दै सात दिनभित्र पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले लोकमानको नियुक्तिसम्वन्धी फाइल पेश नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । र, सरकारले फाइल भेटिएको खबर गरेको थियो । शुक्रबार त्यो सर्वोच्च पुगेको छ ।
लोकमानको नियुक्तिलाई सदर गर्ने सर्वोच्चको आदेशमा पुनरावलोकनको मागसहित परेको निवेदनमाथिको सुनुवाइका क्रममा सर्वोच्चले सरकारसँग फाइल मागेको थियो । एक साताभित्र फाइल नबुझाए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत सर्वोच्चले दिएको थियो ।