डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित
प्रकाशित मिति : आश्विन १४, २०७३ शुक्रबार
त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालोपट्टि बाँधेर काम सुरु गरेका छन् । डा. केसी सरकारलाई दिएको पछिल्लो एक सातको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रमअनुसार गत आइतबार दिउँसो चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका हुन ।
रेजिडेन्टहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरु आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए चरणवद्घ दबाबमुलक कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको कान्तिपुरमा खबर छ ।
नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले सरकारले डा. केसीको मागलाई वेवास्ता गरे थप कडा विरोधको कार्यक्रम गर्न बाध्य हुने बताए । आमरण अनसनको चौथो दिनमा प्रवेश गर्दा समेत सरकारको तर्फबाट कुनै पनि व्यक्ति डा. केसीलाइ भेट्न आएका छैनन् ।
डा. केसीलाई बिहीबार अस्पताल प्रशासनको सहयोगमा सानोबाट ठुलो कोठामा सारिएको छ । डा. केसीमा मांसपेशीको दुखाइ र चक्कर आउने समस्या देखिएको छ ।