कुन प्रदेशमा कसको सरकार ?
प्रकाशित मिति : माघ ८, २०७४ सोमबार
प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ ।
राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ ।
कुन प्रदेशमा कसको सरकार ?
प्रदेश नं. १ मा एमालेका ५१ जना सांसद छन् । कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ सांसद १ नम्बर प्रदेशमा छन् । यो प्रदेशमा एमालेले मुख्य मन्त्री पाउनेगरी माओवादीसँग छलफल भैरहेको छ । एमालेका शेरधन राई प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रदेश नंं. २ मा संघीय समाजवादी फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी ११ सांसद छन् । यहाँ मधेसवादी दल मिलेर सरकार बनाउने निश्चित छ । संघीय समाजवादी फोरमलाई मुख्यमन्त्री दिनेगरी राजपा र फोरमबीच छलफल चलिरहेको छ ।
प्रदेश नं. ३ मा एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २ तथा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद छन् । यहाँ एमालेले मुख्य मन्त्री पाउने सम्भावना छ । एमालेबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितको नाम चर्चामा छ । तर शाक्यको सम्भावना बलियो देखिन्छ ।
प्रदेश नं. ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन् । यहाँ एमालेका पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री हुनेछन् । दुवैले दावी नछाडेपछि नाम टुंगो लगाउन एमालेलाई समस्या भएको छ ।
प्रदेश नं. ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन् । यहाँ एमालेका शंकर पोख्रेल मुख्य मन्त्री बन्ने पक्का भैसकेको छ । उहाँलाई एमालेले प्रदेश संसदीय दलको नेतामा चयन गरिसकेको छ ।
प्रदेश नं. ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेका प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दावी गरेपनि बाँडफाँड मिलाउँदा माओवादीले पाउने सम्भावना धेरै छ ।
प्रदेश नं. ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन् । यो प्रदेशमा एमालेले माओवादीलाई मुख्यमन्त्री छोड्ने लगभग पक्काजस्तै छ ।