प्रधानन्यायाधीशसँग न्यायाधीशहरु रुष्ट
प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार
फुलकोर्ट नै नबोलाई सर्वोच्च अदालतका नाममा प्रधानन्यायाधीशले एउटा राष्ट्रिय कार्यक्रम आयोजना गरेको तीन दिनपछि न्यायाधीशहरुले त्यसप्रति कडा आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको आयोजनामा गत आइतबार ‘महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच’ विषयक राष्ट्रिय कार्यक्रम आयोजना गरिएको थियो ।
यूएनडीपीअन्तर्गतको गैरसरकारी संस्था रोलरको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत उच्च पदस्थ व्यक्ति सहभागी थिए । यसअघि राष्ट्रप्रमुख उपस्थित हुने यस्तो प्रकृतिको कार्यक्रम फुलकोर्टबाट पारित गराउने प्रचलन थियो ।
सर्वोच्चका वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य वैद्यनाथ उपाध्यायले उक्त कार्यक्रम फुलकोर्टबाट पारित नगराइएको भन्दै असन्तुष्टि जनाएका अन्नपूर्णमा खबर छ । सर्वोच्च उच्च स्रोतका अनुसार फुलकोर्टमा प्रस्ताव नराखिएको भन्दै उपाध्यायसहित न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, चोलेन्द्रशमशेर राणा, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठलगायतका न्यायाधीश असन्तुष्ट छन् ।
सर्वोच्चले नीतिगत निर्णय, फैसला, न्यायाधीश सम्मेलन, संविधान, नियमकानुनमा छलफलमार्फत आफ्नो कुरा भन्न सक्ने भएपनि एजनीओको सहयोगमा गर्ने यो प्रकृतिको कार्यक्रम विचारणीय रहेको असन्तुष्टि उनीहरुको छ ।