श्रीमानले श्रीमती मारे, नाबालक दुई छोरी सहाराविहीन
प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार
–महिला खबर–
प्यूठान । श्रीमानले श्रीमतीको हत्या गरेपछि प्यूठानमा दुई नाबालक छोरीहरू अभिभावकविहीन भएका छन् । आमाको हत्या गरेको आरोपमा बुबा थुनामा परेपछि छोरीहरू सहाराविहीन भएका हुन् ।
प्यूठान नगरपालिका १ खैराकोटका गिरबहादुर सार्कीले आज विहान सात बजेको समयमा श्रीमतीको हत्या गरेपछि एक वर्ष र तीन वर्षकी नाबालक छोरीहरू सहाराविहीन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी राजेन्द्र पोखरेलले बताए ।
गिरबहादुरको घरमा अरु कोही छैनन् । श्रीमतीको हत्या गरि घरबाट फरार भएका गिरबहादुरलाई प्रहरीले चेक प्वाइन्ट थापेर खोजी गरेपछि केहि बेर अघि प्यूठानकै चेरनेताबाट पक्राउ गरि थुनामा राखेको डीएसपी पोखरेलले महिला खबरलाई बताए ।
प्रहरीको पक्राउमा परेका सार्की श्रीमतीको हत्या गरेको पश्चातापमा धेरै रोइरहेको र उनले केही कुरा नबताइरहेका कारण घटना के कारणले भयो भन्ने पत्ता लाग्न नसकेको पनि पोखरेलले बताए ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली अहिले घटना स्थल पुगेर घटनाको मुचुल्का उठाइरहेकोले विस्तृत विवरण आउन बाकी रहेको उनको भनाइ छ ।
‘दुई नाबालिकाको संरक्षक को हुने भन्ने बारेमा प्रमूख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ’ डीएसपी पोखरेलले महिला खबरसँग भने, ‘यो समाचार पढेर कसैले नाबालिकाको संरक्षणको जिम्मा लिएको भए राम्रो हुन्थ्यो ।