सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन-प्रधानमन्त्री ओली
प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार
प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् ।
‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’–प्रधानमन्त्री ओलीले भने,‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन ।
सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।’
नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए ।
जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
प्रधानमन्त्री ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे ।
‘देशको विकास गर्ने कुरामा अब ढिलाढाला गर्न सकिँदैन’ उनले भन,‘सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ ।’