पढ्न पठाएकी छोरी केटासँग हिँडेपछि बाबुले गरिदिए छोरीको हत्या


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

जनकपुरधाम – आफ्नी १९ वर्षीया छोरीको हत्या गरेको आरोपमा दिलीपकुमार यादवलाई पक्राउ गरेको छ । कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशङ्कामा धनुषा प्रहरीले पक्राउ गरेको हो । सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई फागुनमा २६ गते पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाएको धनुषा प्रहरीले जनाएको छ । स्नेहाकुमारी काठमाडौँको नासा कलेजमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार फागुन ८ गते छोरीलाई सम्झाउने क्रममा उनीहरूबिच झगडा भयो । त्यही साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भयो ।

पक्राउ परेपछि स्नेहाका बाबु दिलीपले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन् । प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ । कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफैँ काठमाडौँ पुगेर फागुन २ मा जनकपुर ल्याएका थिए । त्यसपछि स्नेहा र बाबु दिलीपबिच दिनहुँ झगडा भइरहन्थ्यो । फागुन ८ गते साँझ पनि ठुलो स्वरमा झगडा भएको सुनिएको थियो । तर अर्को दिनदेखि त्यो घर सुनसान भएपछि स्थानीय बासिन्दा पनि सशंकित भए ।

मृतक स्नेहा ( फोटो: कान्तिपुर )

फागुन ९ गते साँझ बाबु दिलीप भाडाको गाडी लिएर डेरामा पुगे । अचेतलाई झैँ काँधमा स्नेहालाई बोकेर गाडीमा हाले र भारततर्फ लागे । छिमेकीहरूले चासो राख्दा ‘स्नेहा बिरामी’ भएकाले उपचारका लागि भारतको दरभंगा लैजान लागेको बताए । छोरीलाई उपचारको बहानामा भारत लगेका दिलीप उतैबाट फरार भए । आमा सरितादेवी पनि जनकपुरको डेरामा ताल्चा लगाएर फरार भइन् । छोरीको शव जलाएको चार दिनपछि दिलीपले भारतबाटै आफ्नो घर सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए । छोरीको मृत्यु भए पनि उनको घरमा जुठो बार्नेबाहेक अन्य संस्कार गरिएन ।

स्नेहाको हत्या अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार नासा कलेजले स्नेहाको आचरणसम्बन्धी कम्प्लेन र स्नेहाकै व्यवहारका कारण केटापक्षले उनीसित विवाहको टुङ्गो भइसकेको केटाले विवाह गर्न इन्कार गरेका कारण दिलीप रुष्ट थिए । प्रहरीका अनुसार काठमाडौँमा अर्कै केटासित घुमिरहेको देखेपछि स्नेहासित विवाह गर्न टुङ्गो लागे पनि केटापक्षले अस्वीकार गरेको थियो । यही दुई कारणले स्नेहासित उनका आमा–बुवा रिसाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com