हिम्मतिला मधेशी छोरीहरूः मुद्दा लडेर अंश लिँदै
प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार
–रुमा रिजाल–
सुनसरी । किरणकुमारी यादव कक्षा ९ मा पढ्दै थिईन् । दाजु र बुबाले विवाह गरिदिने निर्णय गरे । सुनसरी देवानगञ्ज गाउँपालिका–७ की किरणले बुबा र दाजुको निर्णय उल्ट्याइदिइन् । बुबा र दाजुले राखेको प्रस्तावलाई ठाडै अस्वीकार गरिन् ।
एक त उनलाई पढ्ने रहर थियो । अर्को विहेको लागि उमेर पनि पुगेको थिएन । त्यसैले उनले विवाहमा असहमती जनाईन् । तर किरणको पढ्ने कुरामा अभिभावक सहमत भएनन् ।
अन्ततः उनले उच्च शिक्षा अध्ययन गर्न आफ्नै बुबाविरुद्ध अंश मुद्दा हालिन् र मुद्दा जितिन् पनि । २३ वर्षीया किरण अहिले हरिनगरमा कक्षा ११ मा पढ्दैछिन् ।
‘१२ कक्षा सकिएपछि स्नातक पनि पढ्ने मेरो इच्छा छ । त्यसपछि विवाह गर्दा मेरै स्तरको केटा भेट्नेछु,’ उनले भनिन् ‘पढेको केटासँग विहे हुँदा पारिवारिक जीवन पनि राम्रो हुन्छ ।’
त्यो प्रस्तावमा सहमति जनाएको भए सम्भवतः त्यतिबेलै उनको पढाइमा पूर्णविराम लाग्थ्यो । कलिलै उमेरमा बालबच्चा हुर्काइरहेकी हुने थिइन् । तर आज उनी विश्वासका साथ भन्न सक्छिन्, ‘छोरीले पढ्न पाउँदा आफ्नो जीवन बनाउने हिम्मत आफै गर्न सक्छन् ।’
सानैमा आमा गुमाएकी किरण बुबा र दाजुभाइसँगै बस्दै आएकी थिइन् । उनको कान्छो भाइ जन्मिएपछि आमाको मृत्यु भयो । आमा बिरामी पर्दा समेत उपचारका लागि अस्पताल लानुको साटो घरमै राखिएको पीडा उनको मनमा अझै ताजा छ ।
आँखै अगाडि किरणले आफ्नी आमाको मृत्यु देख्नुपर्यो । आमालाई उपचार नगराउँदा बुबा र दाजुप्रति घृणा जाग्न थालेको उनी बताउँछिन् । अरु छोरीको विवाह भई सकेकाले गर्दा उनका बुबाले जतिसक्दो चाँडो किरणको पनि विवाह गरिदिन चाहान्थे । तर उनले विवाह नगर्ने अडान लिईन् । अंश मुद्दा पनि जितिन् । अंश बापत पाएको साढे ४ कठ्ठा जमिनको लालपुर्जा अहिले उनको शिक्षा हासिल गर्ने सपनाको बलियो आधार बनेको छ ।
सुनसरीकै राजगञ्ज निवारीकी ममताकुमारी मेहताले पनि उच्च शिक्षा अध्ययनकै लागि बुबा विरुद्द अंश मुद्दा हालिन् । उनले बुबालाई बिपक्षी बनाई अंश मुद्दा हालेको दश वर्ष पछि भाइबहिनी र आमाको नाममा ११ कट्ठा जमिनको धनीपुर्जा हात पारिन् ।
जिल्ला मालपोत कार्यालय इनरुवामा भेटिएकी उनी जिल्ला अदालतबाट प्राप्त पत्रका आधारमा अंश बण्डाको मुचुल्का गर्न लाइनमा पर्खिरहेकी थिइन् । सानैदेखि मावलीमा बस्दै आएकी ममता छोरी भए कै कारण आफूले हेला सहनु परेको बताउँछिन् ।
‘बुबाले सानैमा बिरामी पर्दा उपचार गर्नुको सट्टा मरोस् बरु भन्दै त्यतिकै छोडिदिनुभको थियो रे । अनि हजुरबुवाले उपचार गराएर बचाउनु भएको थियो अरे’ उनले विगत सम्झदै भनिन् । ३ बहिनी र दुई भाई भएकी ममता घरकी जेठी छोरी हुन् ।
मधेशी समुदायमा छोरीको सानैमा विवाह गरि दिने र हिँडडुलमा प्रतिबन्ध लगाउने मानसिकता उनका बुबामा पनि थियो । छोरीलाई घर भित्रै मात्र बस्न दबाब दिने गर्थे । ममता कक्षा सातमा पढ्दा पढ्दै बुबाले दोस्रो बिबाह गरे ।
ममता मात्र १३ वर्षकी थिइन् । बुबाकै भरमा रहेका ममताको परिवार बिचल्लीमा प¥यो । बुबाको सहारा नपाएको ममताको परिवारले धेरै दुःख कष्ट खेप्दै आएको थियो । मामा घरमै बसेका उनीहरूले २०६४ सालमा अंश मुद्दा लड्ने निर्णय गर्यो । जसका लागि साथ दिए उनका मामलाका हजुरबुवाले ।
छोरीले पढ्न लेख्न हुदैन भन्ने मानसिकता कायमै रहेको थियो त्यो बेला । छोरीले बुबा बिरुद्दको अंश मुद्दा हाल्ने कुरा ममताको लागि सहज थिएन । ममताले आमा भाइवहिनी सँगोलमै यो मुद्दा हालिन् । जुनबेला ममता नाबालकनै थिइन् । मुद्दा लड्दालड्दै ममता अहिले ठूली भइसकेकी छन् । उनले अहिले नागरिकता प्राप्त गरी सकेकी छन् ।
बुबाले छाडेर हिँडेपछि अन्यायमा परेको ममताको परवारको न्यायमा पहुँच थिएन । हजुरबुवाले नै साथ दिएर कानुनी प्रक्रियामा जान सहयोग गरे । १० वर्ष पछि बल्ल यो परिवारले न्यायको अनुभूति गरेको छ ।
जिल्ला अदालतहुँदै पुनरावेदन र सर्वोच्च अदालतसम्म पुगेर मुद्दा लडिरहेकी छिन् ममता । उनले आफ्नो पढाइ पनि अगाडि बढाइरहेकी छन् । पढ्नकै लागि अंश माग गरेकी ममताको मुद्दाको फैसला हुन लामो समय लाग्यो । तर उनले हरेस खाइनन् ।
१० वर्ष पछि ममता, उनका भाइबहिनी र आमाको नाममा ११ कठ्ठा जमिनको धनिपुर्जा भखरै बनेको छ । अब अझै ५ कट्ठा अंशमा ममताको दाबी छ । त्यसका लागि कानुनी प्रक्रिया पुरा गरिरहेको ममताले बताइन् ।
किरण र ममता त उदाहरण मात्र हुन् । सुनसरीमा विवाह गर्ने परिवारको निर्णय विरुद्द अंशमुद्दा लडेरै अध्ययन गर्ने हिम्मतिला मधेशी मूलका छोरी बढ्दै गएका छन् ।
जिल्ला अदालत सुनसरीको तथ्याकं अनुसार आर्थिक वर्ष २०७३\०७४ मा ५ हजार ७ सय ९७ मुद्दा दर्ता भए । ती मध्ये १ हजार १० वटा अंश सम्बन्धी थिए ।
अंश मुद्दामा छोरीले मात्रै आमाबुबालाई विपक्षी बनाएर हालेका मुद्दाको यकिन तथ्याङ्क भने छैन । तर पनि यो संख्या बृद्धि हुँदै गएको जिल्ला अदालतका श्रेष्तेदार नवराज आचार्यको भनाइ छ ।
मुलुकी ऐनमा २०५९ असोज ९ गतेसम्म अंशबन्डा गर्दा बाबुआमा स्वास्नी छोराछोरीकोअंश गर्नुपर्छ भन्ने व्यवस्था थियो । सोही सालको असोज १० गतेदेखि भने अंशबन्डा गर्दा यस महलको अन्य नम्बरहरूको अधिनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियकै अंशबन्डा गर्नुपर्छ भन्ने लागु भयो ।
२०५९ साल असोज १० देखि कार्यान्वयनमा आएको मूलुकी ऐनको यो व्यवस्था अन्तर्गत जन्मेदेखि नैं छोरीले अंश हकदार कायम हुने उल्लेख छ । २०५९ सालअघि भने ३५ वर्ष पुगेपछि मात्र छोरी अंश हकदार हुन पाउँथे । अहिलेको संविधानले पनि अंशमा जन्मेदेखि नै महिलाको हक स्थापित गरेको छ ।
यहि कानुनी व्यवस्थालाई टेकेर पछिल्लो समय हिंसा सहनुको सट्टा मधेसी मुलका छोरी न्याय लिन थालेका छन । सामाजिक अभियन्ता तथा अधिवक्ता स्यामिका महतो भन्छिन्, ‘घर भित्रैकै अभिभावकसँग ठाडो शिर गरेर कुरा गर्न नसक्ने समाजका केही छोरीहरू हिंसाको विरुद्धमा छन् । सानैमा विवाह गरिदिने अभिभावकै विरोध गर्न थालेका छन् । यो छोरीबुहारीलाई अंश दिन नमान्ने समाजलाई चुनौती हो ।’