उत्तर कोरियाका नेता किम जोङ चीन भ्रमणमा !
प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार
सत्ता सम्हालेदेखि आफ्नो देश बाहिर नगएका किम जोङ उन चीन गएका छन् । जापानी मिडियाका अनुसार उत्तर कोरियाका नेता किम जोङलाई लिएर एउटा रेल चीनको राजधानी बेइजिङ पुगेको छ ।
चीन उत्तर कोरियाको एकमात्र मित्र देश मानिन्छ । तर केही समय अघि उत्तर कोरियाले गरेका मिसायल परीक्षणलाई लिएर दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । जापानी सञ्चार माध्यमले त्यो रेलमा किम जोङ भएको दावी गरे पनि चीन र उत्तर कोरियाका सञ्चार माध्यमले भने यस बारेमा केही उल्लेख गरेका छैनन् ।
तर, साँच्चै किम जोङ चीनको भ्रमणमा गएका भए यो महत्वपूर्ण उपलब्धी मानिने जानकारहरुको बुझाई छ । जापानको राजधानी टोक्योमा रहेको ‘निपान न्यूज नेटवर्क’ले हरियो रङ भएको रेलको डब्बाको तस्बिर प्रसारण गरेको थियो । यो सञ्चार माध्यमले भनेको छ कि २०११ मा किम जोङ उनका बुबा तथा उत्तर कोरियाका नेता किम जोङ इल पनि यस्तै रेलमा बेइजिङ आएका थिए ।
एक पसलको म्यानेजरका अनुसार सोमबार बेइजिङ रेल स्टेशनमा अरु दिन भन्दा फरक दृश्य देखिएको थियो । उनले समाचार एजेन्सी एएफपीसँग भने ‘बाहिर, सडकमा र स्टेशन अगाडि धेरै प्रहरी तैनाथ थिए । साथै भित्रबाट रेल स्टेशन बन्द गरिएको थियो ।’
यहि महिना उत्तर कोरियाका विदेश मन्त्रीको स्वीडेनका प्रधानमन्त्री स्टीफन लाफवेनसँग भेटवार्ता भएको थियो । यो भन्दा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङबीच भेटवार्ता हुने खबर आएका थिए ।