हिमपातका कारण अवरुद्ध माथिल्लो मैलुङ ‘ए’ को निर्माण कार्य सुरु


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

चैत १५, रसुवा । तीन महिनादेखि रोकिएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ। हिमपातका कारण तिन महिनासम्म अवरुद्ध बनेको रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको आयोजनाको काम चैतको पहिलो साताबाट सुचारु भएको हो। निर्माणस्थलमा हिउँ जमेको कारण आयोजनाको निर्माण कार्य गत पुसदेखि रोकिएकोमा अहिले हिउँ पग्लिएसँगै निर्माण कार्यले गति लिएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। उनले भने ‘हिमपात र बर्खाको समयमा गरी वर्षको ६ महिना निर्माण कार्य प्रभावित हुँदै आएको छ, असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ।’ आयोजनामा अहिले पावर हाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको प्रोजेक्ट इन्चार्ज जोशीले बताए। उनका अनुसार आयोजनामा काम सुचारु भएसँगै अहिले अहिले ३० जना कामदारले काम गरिरहेका छन्। २०६९ सालदेखि निर्माण सुरु भएको आयोजना रन अफ रिभरु प्रणालीमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। ६।४२ मेगावाट क्षमताको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने प्रोजेक्ट इन्चार्ज जोशीले बताए। आयोजनाको ९३० मिटरमध्ये अब करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी रहेको आयोजनाले जनाएको छ। वर्षको ६ महिना मात्रै आयोजनास्थलमा काम गरिने भएकाले निर्माणमा ढिलाइ भएको हो। सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको जोशीले बताए। जय दुर्गे कम्पनीले ३३ केभी प्रसारण लाइनको निर्माण गरिरहेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com