लुम्बिनीलार्इ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र बनाउँछाै‌ : प्रम ओली


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलार्इ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र ठाउँका रुपमा विकास गर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी छन् ।’

बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि हो ।”

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकेको तथ्य स्वीकार गर्दै बुद्धले मानव जातिको विकासका लागि नयाँ दर्शन प्रतिपादन गरेको बताउनुभयो ।

बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामको एकीकृत विकासमा जोड दिँदै उहाँले बुद्ध जयन्तीलाई प्रदेशको राष्ट्रिय पर्वको रुपमा मनाउन चाहन्छौँ भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका चार उत्कृष्ट कर्मचारी, दुई अति उत्कृष्ट कर्मचारी र एक सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुभएको थियो । उत्कृष्ट कर्मचारीलाई रु १० हजार, अति उत्कृष्ट कर्मचारीलाई रु २० हजार र सर्वोत्कृष्ट कर्मचारीलाई रु ३० हजार नगद प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com