मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन, हाकिम भन्छन, ‘कर्मचारी अभावले समस्या भयो’
प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार
सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन सामान्यजस्तै भएको छ ।
सेवाग्राहीको काम गरे वापत सम्बन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा घुस लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ ।सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु हुँदै आएको छ । कर्मचारीहरु घुस माग्छन् या सेवाग्राहीले नै घुस दिन्छन् भन्ने विषयमा खोजी गर्दै जाँदा भित्री रहस्य भने अर्कै पाइएको छ ।
कर्मचारी अभाव
एकातर्फ सरकारले नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ भने अर्कोतर्फ कार्यालयमा रहेका दरबन्दी घटाउँदै लगेको छ ।
अत्यधिक कामको चाप रहने त्यस कार्यालयले एक दशकयता कर्मचारी अभावमा नागरिकलाई छिटो–छरितो सेवा प्रदान गर्न सकेको छैन । कार्यालयबाट काम सम्पन्न भएपछि सेवाग्राहीले युद्ध जितेजस्तो अनुुभूति गर्नुपर्ने अवस्था रहेको छ ।
कार्यालयमा एक जना प्रमुख मालपोत अधिकृत हुनुपर्नेमा वर्षौंदेखि निमित्त भएर मालपोत अधिकृतले कार्यालय धान्दै आएका छन् । दुई जना मालपोत अधिकृत हुनुपर्नेमा अहिले एक जना, नायव सुब्बा सात जना रहनुपर्नेमा पाँच जना मात्र कार्यरत छन् ।
यसैगरी, खरिदार दश जना हुनुपर्नेमा अहिले ६ जना मात्र कार्यरत रहेको प्रशासन प्रमुख तथा सूचना अधिकृत रामनारायण शर्माले जानकारी दिनुभयो । खाली भएको दरबन्दीमा कर्मचारी पठाउन आफूहरुले पटक–पटक पत्राचार गर्दा पनि अहिलेसम्म नपठाएकोले एक जना कर्मचारीले कहिलेकाहीँ चार ओटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको दुखेसो उहाँले पोख्नुभयो ।
‘२१ जना खरिदारबाट अहिले १० जनाको मात्र दरबन्दी छ, त्यसमा पनि ६ जना मात्र कार्यरत छन्, कामको भार अत्यधिक रहेकोले धान्नै गाह्रो छ’,उहाँले बताउनुभयो ।
श्रेस्ता र मोठ फाँटमा कामको अत्यधिक चाप रहने गरेकोले कर्मचारी अभावले सेवाग्राहीलाई छिट्टो–छरितो सेवा प्रदान गर्न नसकेको उहाँले स्वीकार्नुभयो । दश ओटा मोठ फाँट रहेकोमा पाँच÷६ जनाले भ्याउनुपर्ने अवस्था रहेको उहाँले बनाउनुभयो । सेवाग्राहीको काम समयमा हुन नसक्दा सेवाग्राहीबाट अपशब्द एवम् दुव्र्यवहार सहनु समान्य जस्तै भइसकेको उहाँको भनाई छ ।
‘कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसक्दा हामीलाई पनि दुःख लाग्छ’, उहाँले भन्नुभयो, ‘काममा ढिलाई भएपछि सेवाग्राहीले पैसा नदिएकै कारण काममा ढिलाई गरेको भनी लगाएको आरोप हामीले झेल्नुपरेको छ ।’
सेवाग्राहीको गुनासो
महिनौं धाउँदा पनि सेवा नपाएको गुनासो गर्नेहरुको फेहरिस्त लामो छ । ती मध्येका एक हुन् राजविराज नगरपालिका वडा नम्बर–१२, का हरिहर चौधरी । उनले जग्गा नामसारी गराउन गएको चैत १२ गतेदेखि बिदाका दिन बाहेक दैनिकजसो फाइल बोकेर कार्यालय धाउने गरेका छन् ।
उनी कार्यालय खुल्नु अगावै ढोकामा कुरिरहेका हुन्छन् । सुरुमै कार्यालय पुगेर शान्त वातावरणमा काम गराउँला भने आशा लिएर उनी कार्यालय हाताभित्र छिर्छन् । कार्यालयको समय सकिएपछि निन्याउरो अनुहार लिएर बाहिरिन्छन् ।
राजविराज नगरपालिका वडा नम्बर–४, का राजेश्वर साह बाटो कित्ता काटका लागि गएको तीन महिनादेखि कार्यालय धाउँदै आएका छन् । तर उनको पनि काम बन्न सकेको छैन । कार्यालय आएर दिनभर समय बर्वाद गर्नु बाहेक अहिलेसम्म केही उपलब्धि नभएको उहाँको गुनासो छ ।
यसरी हुन्छ रकमको कारोबार
मालपोत कार्यालयमा काम गराउन आएका सेवाग्राहीलाई कुन फाँटमा जाने, कसरी काम गराउने भन्ने प्रक्रिया बुझ्नै गाह्रो छ । सर्वसाधारण नागरिक विभिन्न काम लिएर कार्यालय जान्छन् । विभिन्न फाँटहरु धाउँदा धाउँदै सेवाग्राही वाक्क हुन्छन् । काम गराउने तरिकाबारे जानकारीको अभाव तथा समयमा काम नभएपछि दुई चार दिनको दौडधुपपछि थकित हुन्छन् ।
चाँडै काम गराएर फर्किने आशमा दिनहुँजसो कार्यालय धाउँदै आएका सेवाग्राहीलाई त्यही घुमिरहेका दलालहरुले काम तुरुन्तै काम गराइदिने भन्दै लेनदेनको कुरा गर्दै हातमा फाइल बोकेर काम गराइदिने गरेको एक सेवाग्राहीले बताए । उनका अनुसार दलालले चर्को रकम लिएर केही अंश फाँटवालालाई समेत बुझाउँदै काम गराइदिने गर्छन् ।
यतिमात्र होइन, चाँडो काम गराउनका लागि केही सेवाग्राहीले आफैं कर्मचारीलाई रकमको प्रस्ताव गरेर काम गराउने गरेको उनले बताए ।
कर्मचारी अभाव लगायतका समस्याले जिल्लामै सर्वाधिक ढिलासुस्ती तथा रकम लेनदेनका कारण मालपोत कार्यालय चर्चामा रहँदै आएको छ । त्यस कार्यालयमा सेवाग्राही र कर्मचारीबीच झै–झगडा हुनु समान्य जस्तै भइसकेको छ ।
यता कार्यालयका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका मालपोत अधिकृत दधिराम गुरागाईंले कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसकेको बताउनुभयो । सेवाग्राहीको अत्यधिक चाप तथा सम्पूर्ण फाँटमा कर्मचारी नहुनाले समस्या भइरहेकोले कर्मचारी पठाउन माग गरिसकिएको उहाँले जानकारी दिनुभयो ।