उत्तर काेरियासँग कोरियाली गैरसैनिक सीमा क्षेत्रमै वार्ता गर्न ट्रम्पकाे प्रस्ताव
प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गरेका छन् ।
ट्रम्पले अाफ्नाे ट्वीटरमार्फत भनेका छन्, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति/स्वतन्त्रतागृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमुलक हुन सक्दैन र ?”
उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्ति गृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो । ट्रम्पले पनि अमेरिका–उत्तरकाेरिया वार्ताका लागि साेही स्थान उपयुक्त हुने धारणा राखेका हुन् ।
दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुनुहुन्छ । नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्ति गृहमा प्रवेश गरेका थिए ।
कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिबद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको हाे । सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ ।
यदि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
इन्डाेनेसियामा वार्तास्थल बनाउन अाग्रह
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाका सर्वोच्च नेता अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ । शिखर सम्मेलनका लागि आवश्यक सम्पुर्ण व्यवस्था गर्न अाफू तयार रहेको इन्डोनेसियाको भनाइ छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासलाई आफूहरुले पनि सहयोग गर्न चाहेको सोमबार बताएका छन् । उनले उत्तरकोरियाका राजदूत एन क्वाङ आइआइ र दक्षिण कोरियाका राजदूत किम चाङबोमसँग स्टेट प्यालेसमा सोमबार भेटेर शिखर सम्मेलन इन्डोनेसियामा गर्न प्रस्ताव गरेका हुन् ।
“यदि उत्तर कोरियाका सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बीच भेटवार्ताको तयारी भएको हो भने त्यसको आयोजना हामीले गरिदिन चाहन्छौं,” राष्ट्रपति विडोडोले भनेका थिए ।