आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ ।
युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् ।
‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् ।
धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि आक्रमणकारी पक्राउ नपर्नुले अपराधीलाई थप मनोबल पुगेको बताउनुभयो ।
राजनीतिक खोल ओढेर यो वा त्यो को नाममा एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “आक्रमण हुने क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, देशमा आतंक फैलाउँछु भन्ने सोचेको हो भने त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।”
संघका अध्यक्ष पौडेलले सरकारले जनप्रतिनिधि र जनताको सुरक्षा गर्न नसके युवा संघ जनताको सुरक्षाका लागि सडकमा ओर्लने बाध्य हुने बताउँदै “जनप्रतिनिधिलाई आक्रमण गर्ने र जनतालाई आतंकित पार्न कसैले खोज्छ भने, जुनसुकै संगठनका र जो सुकै भए पनि युवा संघ अब चुप लागेर बस्दैन, त्यसको प्रतिवाद गर्छ भन्नुभयो ।”
कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले यो घटनापछि जनप्रतिनिधि थप असुरक्षित भएको र एक्लै हिँड्डुल गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई सडक कालोपत्रको अनुगमनका क्रममा मध्यपुरको प्रमुख जस्तै बनाइदिउँला भनेर धम्की दिएको बताउँदै उहाँले सुरक्षाको माग गर्नुभयो ।
प्रजिअ पोखरेलले घटनाको अनुसन्धान भई आक्रमणकारीको पहिचान भइसके पनि उनीहरु लुकेर बसेका कारण पक्राउ गर्न नसकेको उल्लेख गर्दै आक्रमणकारीलाई पक्राउ गर्न अब धेरै दिन नलाग्ने बताउनुभयो ।
जनप्रतिनिधि र जनताको सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासन क्रियाशील रहेको बताउनुभयो । आक्रमणबाट घाइते प्रमुख श्रेष्ठको कोरिया–नेपाल मैत्री अस्पताल ठिमीमा उपचार भइरहेको छ । ९तस्वीर संलग्न छ ।०