गोरे समुहले बर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको छानबिन समितिको ठहर, यस्तो छ
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
काठमाडौं । चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार र साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर गरेको छ ।
१७,०१,८०,७१,४३० रुपैयाँ बिगो
गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग
३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराधअन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो ।
गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो ।
‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अपराध गरेको आरोपमा पक्राउ परेका २९ जनासहित जम्मा ६३ जनाविरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएकोे मोरङ अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
मुद्दा चलाइएका फरार अभियुक्तमा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीदेखि नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसम्म छन् ।
पत्रकारमाथि एसपी लोहनीको लात्ती
अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन् । पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन् ।
इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन् । अर्का पत्रकार सुमन सुस्केरालाई मुक्का हान्ने प्रयास गरेका थिए । ब्लास्ट दैनिकका अनिल श्रेष्ठलाई अपशब्द बोलेर दुर्व्यवहार गरेका थिए । न्यायालयभित्रै भएको अभद्र व्यवहारको पत्रकार संगठनहरूले भत्र्सना गरेका छन् ।
यसरी भेटिएको थियो सनमको शव
१८ फागुनमा जंगलमा करेन्ट लगाएर हत्या गरिएका उर्लाबारी–७ का युवा सनम शाक्यको शव १९ फागुनमा विराटनगर महानगर–३ स्थित ज्योतिमार्गमा जिपभित्र प्रहरीले बरामद गरेपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।
सुरुमा महानगरीय अपराध महाशाखाको अप्रेसन टोलीले तस्कर समूहले लहानतिर भरिया सनम शाक्यको हत्या गरेर फरार भएको प्रचारबाजी गराए पनि पछि उक्त हत्या मोरङ उर्लाबारी–१ स्थित कान्छीचोकको जंगलमा गायब सुन खोज्नका लागि यातना दिने क्रममा भएको खुलेको थियो ।
त्यसछि घटनलाई संगठित र रहस्य मानेर गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।
अनुसन्धान बलियो छ : समिति
फरक–फरक आरोपमा अभियोगपत्र तयार गरिएको भए पनि सबैमा प्रमाण पुगेकाले मुद्दा बलियो भएको संयुक्त अनुसन्धान समितिको दाबी छ । आरोपी सबैले प्रमाणसहित अभियोग स्वीकार गरिसकेकाले अनुसन्धान बलियो भएको समितिका सदस्य जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए ।
अनुसन्धान अपूरै
गायब साढे ३३ किलो सुन र त्यसका मुख्य मालिक मानिएका चूडामणि उप्रेती गोरेबारे कुनै पत्तो नलागेकाले अनुसन्धान अपूरै रहेको कानुन व्यवासयीहरूले बताएका छन् । प्रहरीले धेरै बेकसुर व्यक्तिलाई शंकाकै भरमा पक्राउ गरेर संगठित अपराधमा अभियोग लगाई फसाउन खोजेको हुन सक्ने आशंका पनि कानुन व्यवसायीले गरे ।
के हो संगठित अपराध ?
संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसैले पनि जानेर, नजानेर वा समूहसँग मिलेर संगठित अपराध गर्ने–गराउने, समूहमा लाग्ने, सहयोग गर्ने, निर्देशन दिने गरे संगठित अपराध गरेको ठहरिने छ । गम्भीर अपराध भन्नाले तीन वर्षभन्दा बढी सजाय हुने अपराधलाई मानिएको छ ।
भ्रष्टाचार, अवैध ओसारपसार, सम्पत्ति शुद्धीकरण वा आतंककारी क्रियाकलाप र अवैध वित्तीय कारोबार संगठित अपराधमा पर्छन् । अपराध लुकाउन सहयोग गर्ने तथा संलग्नलाई भगाउन सहयोग गर्ने र लाभ लिने काम पनि संगठित अपराध नै मानिन्छ ।
संगठित अपराधमा संलग्नलाई कर्तव्य ज्यानबाहेक अन्य अपराधसँगै थप ५० प्रतिशत सजाय हुनेछ । संगठित अपराध ठहर भए ३ देखि ७ वर्षसम्म जेल तथा बिगोअनुसारको जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउनेसहितको सजाय हुन सक्छ ।
संगठित अपराधमा संलग्नहरूको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने र सम्पत्ति शुद्धीकरण आयोगमा मुद्दा चलाउनेसमेत अधिकार सुरक्षित छ ।
एयरलाइन्सका १३ कर्मचारीलाई संगठित अपराध तथा सुन तस्करी अभियोग
एयरलाइसन्का कर्मचारीहरू बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, कपिलराम पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू, राजन थापा, राप्रपाका नेता भुुजुङ गुरुङसहित सुन कारोबारी राजेशमान शाक्य, महावीर गोल्यान र अर्का एकजनलाई पनि संगठित अपराध तथा सुन तस्करी आरोपको अभियोगपत्र तयार गरिएको आजको नयाँ पत्रिका दैनिकमा छ ।