यस वर्षको मनसुन नेपालका लागि रहनेछ फलदायी


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

काठमाडौं : नेपालमा आकाशे पानीकाे भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षकाे मनसुन फलदायी रहनेछ।

यस वर्षको मनसुनमा मुलकभर औसत वर्ष हुने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो।

सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ। सोभन्दा कम र बढी वर्षा भएमा मौसमविदहरु न्यून वा अधिक वर्षका रुपमा बुझ्ने गर्छन्।

विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा एक महिनाअघि नै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको समाचार अाजकाे नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

डेढ साताअघि भारतको पुर्णेमा भएको सास्कोप जमघटले मुलुकको आगामी मनसुन औसत रहने ठहर गरेको मौसमविद् शान्ति कँडेलले बताएका छन् ।

‘सास्कोपले हरेक वर्ष मनसुन र हिउँदे वर्षा विश्लेषण गर्दै आएको छ, नेपालको सन्दर्भमा भूगोल र स्थान विशेषका आधारमा औसत वर्षाको मात्रा फरक पर्छ।’ –उहाँले भन्नुभयो।

मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो। गत वर्ष पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com