शिल्यान्यास देखि उद्घाटनमा व्यस्त प्रधानमन्त्री, एक दिनमा दश कार्यक्रम
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गृह जिल्ला झापामा एकै दिन १० वटा कार्यक्रममा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मङ्गलबार बिहान प्रधानमन्त्री भद्रपुरस्थित विमानस्थलमा आएपछि दिनभर कार्यक्रममा व्यस्त हुनुभएको थियो । प्रधानमन्त्रीलाई विमास्थलमा नै विभिन्न सङ्घसस्था तथा पार्टीका प्रतिनिधिले स्वागत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले झापा जिल्ला समन्वय समिति झापाको प्रथम बैठकलाई सम्बोधन गर्नुभएको थियो । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।
दिउँसो १२ बजे प्रधानमन्त्री ओली पूर्वपश्चिम राजमार्गअन्र्तगत जिल्लाको चारपानेदेखि चैतुबारी, राजगढ सडकको कालोपत्रे योजनाको शिल्यान्यास कार्यक्रममा सहभागी हुनुभएको थियो ।
त्यसपछि उहाँ त्यही राजमार्गअन्र्तगत लक्ष्मीपुरबाट इलामको साधुटार जोड्ने सडक कालोपत्रे गर्ने कामका सुरुवात गर्नुभएको थियो । त्यसलगत्तै उहाँले बिरिङ पुलको शिल्यान्यास गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले मङ्गलबार अपराह्न झापा पश्चिम अर्थात् आफ्नै निर्वाचन क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिकाको पाँडाजुगीबाट दक्षिण झर्का, बालुबथान, चप्रमारी हुँदै खजुरगाछी जोड्ने सडकको उद्घाटन गर्नुभएको थियो । त्यसपछि उहाँले कलम गाउँपालिकाकै केर्खाबाट अमलडाँगी, समयगढ, सोलमारी सडक शिल्यान्यास गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली बुधबार आफ्नो गृहनगर दमक नगरपालिकाका चार वटा कार्यक्रममा समेत सहभागी हुनुहुनेछ । प्रेस संयोजक अधिकारीका अनुसार दमक नगरपालिकाको प्रथम नागरिक भनेर घोषणा गरिएको धिमाल जातिको प्रतिमा अनावरण गर्नुहुने कार्यक्रम छ ।
त्यसपछि दमकमा २७ करोड रुपियाँको लागतमा सम्पन्न खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले दमकको मुख्य बजारको बीचमा निर्माण गरिएको नमुना मार्गको उद्घाटन गर्ने कार्यक्रम पनि छ । अपराह्न १ बजे उहाँले मोफसलमा नै ठूलो राशि भएको दमक गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री ओली अपराह्न ३ बजे भद्रपुरबाट काठमाडाँैं फर्कने कार्यक्रम छ ।