काँग्रेस केन्द्रीय सदस्यको बैठक बस्दै
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ ।
आज दिउँसो बोलाइएको बैठकमा पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको तयारी रहेको उहाँको सचिवालयले जानकारी दिएको छ । देउवा निकट मानिनुभएका नेता प्रकाशशरण महतले आज बोलाइएको बैठकले पदाधिकारी मनोनयन गर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।
काँग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी मनोनयनको प्रावधान रहेको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरले भने बैठक अगाडि रणनीति बनाउन छुट्टै भेला राखेका छन् ।
संस्थापन इतरको भेलाले सभापतिले बोलाएको बैठकमा जाने वा नजानेबारे निर्णय लिने पौडेल निकट स्रोतले बताएको छ । पौडेल तथा सिटौला पक्षधरले विधानमा पदाधिकारी मनोनयन महाधिवेशनको दुई महिनामा गर्नुपर्ने प्रावधान रहेको भन्दै दुई वर्ष वितेको अवस्थामा मनोनयन गर्न नमिल्ने तर्क गर्दै आएका छन् । यसअघि बोलाइएको बैठकमा संस्थापत इतरले बैठक बहिष्कार गरेपछि आजका लागि बैठक समय तय गरिएको थियो ।