पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ ।
प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो ।
प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको हो ।
एरिना यातायातका सञ्चालक समीर कार्कीका अनुसार इटहरी इलाका प्रहरी कार्यालय अगाडि मध्यान्नबाट एरिना यातायात कम्पनीका बसहरु बर्दिधारी प्रहरी चालकले हाँकेका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले यात्रुको सुरक्षाको लागि प्रहरीको सहयोगमा बस सञ्चालन गरिएको जानकारी दिए ।
उनले भोलिदेखि हड्तालमा उत्रिएका व्यवसायीको गाडीसमेत कब्जामा लिएर प्रहरीले चलाउने बताए ।