मोदीकाे स्वागतमा कुनै कसर बाँकी नराख्ने,।


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

दुईदिने राजकीय भ्रमणका लागि वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपाल आउने तय भएपछि स्वागतका लागि तयारी सुरु भएको छ । नेपाल भ्रमणको बेला प्रधानमन्त्री मोदीले काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ भने दुई धार्मिकस्थल जनकपुर र मुक्तिनाथको भ्रमण पनि गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नुहुनेछ । भ्रमणमा प्रधामन्त्री ओली र भारतीय समकक्षी मोदीबीच औपचारिक भेटवार्ता हुनेछ । भेटमा दुई देशबीच पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको खबर अाजकाे गाेरखापत्रमा छ ।

भ्रमणको अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुनेछ । स्रोतका अनुसार प्रधानमन्त्रीद्वयले काठमाडाँैबाट नै बटन थिचेर अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम छ ।

नौसय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारको समेत स्वामित्व रहेको कम्पनी सुतलजले निर्माण गर्ने जिम्मेवारी लिएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै राजनीतिक दलका शीर्ष नेताहरूले भेटवार्ता गर्नुहुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोदीलाई छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । सोही दिन काठमाडौँस्थित भारतीय राजदूतावासले रात्रीभोज आयोजना गर्ने जनाइएको छ । भ्रमणकै क्रममा प्रधानामन्त्री मोदीले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुने कार्यक्रम छ ।

पूजापछि बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाको तर्फबाट प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिने छ । प्रधानमन्त्री मोदीले अयोध्या–जनकपुरलाई धार्मिक रूपमा जोड्ने रामायण सर्किट परियोजनाको घोषणा गर्ने कार्यक्रम समेत छ ।

जनकपुरमा प्रधानमन्त्री मोदीको अभिनन्दन गर्न मञ्च निर्माण कार्य भइरहेको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवम् राष्ट्रिय जनता पार्टीका महासचिव जितेन्द्र सोनलले जानकारी दिनुभयो । जानकी मन्दिरवरिपरि रङ्गरोगन, सरसफाइ गर्नुको साथै, सुरक्षा व्यवस्थालगायत काम पनि अन्तिम चरणमा पुगेको छ । मञ्च व्यवस्थापनको जिम्मेवारी समेत पाउनु भएका मन्त्री सोनलले भन्नुभयो, ‘प्रधानमन्त्री मोदीको स्वागतका लागि हामीले कुनै कसर बाँकी राख्दैनौ । ’

जनकपुरपछि प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जानु हुनेछ । मुस्ताङ जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) रामहरि पाण्डेले प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन गरेर फर्किने कार्यक्रम रहेको आफूलाई जानकारी आएको बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि मन्दिरको रङ्गरोगनदेखि लिएर भीआईपी कक्ष, शौचालय, हेलिप्याड, आइसीयू कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मन्दिरमा रहेका १०८ धारा रङ्गाउने काम पनि धामाधम भइरहेको र एक÷दुई दिनमै सबै कार्य सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

मुस्ताङबाट फर्केपछि प्रधानमन्त्री मोदीले पोखरामा केही समय बिताउने भनिए पनि हालसम्म कुनै औपचारिका कार्यक्रम तय नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ‘भारतीय प्रधानमन्त्री मोदी पोखरा आउने सम्भावना छ । सुरक्षाका लागि तयारी अवस्थामा बस्न गृहमन्त्रालयबाट आदेश आएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com