उपत्यका सहित देशभर गर्मी बढ्यो
प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार
उपत्यका सहित देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो । राती र बिहानको समयमा पानी परे पनि अहिले मध्य र पश्चिमका धेरै ठाउँमा मौसम सफा भई घाम लागेको छ ।
नेपालगन्जमा मंगलबार यस वर्षकै गर्मी भएको थियो । मंगलबार नेपालगन्जको तापक्रम ३९.१ डिग्री सेल्सियस पुगेको थियो । आज पनि त्यहाँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवाको तापक्रम ३८.६ डिग्री सेल्सियस पुगेको छ ।
काठमाडौंको तापक्रम भने ३० डिग्री सेल्सियस छ । प्रि मनसुन चलिरहेको र पश्चिमी वायूको प्रभावका कारण आज बेलुकी पख देशका धेरै ठाउँमा मौसम बद्ली भई हावाहूरीसहित पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।