सुन प्रकरणकाे अदालती बहस: गोरेसँग डिआईजी, एसपीकै ‘क्लोज कनेक्सन’


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगबारे जिल्ला अदालत मोरङमा दायर मुद्दाबारे थुनछेक बहस सुरू भएकाे छ।

जिल्ला सरकारी वकिलकाे मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा आजदेखि थुनछेक बहस सुरु भएको हाे।

बहसमा सरकारका तर्फबाट बहस गर्ने वकिलहरुले अभियोगमा सहयोगी बनेका प्रहरी अधिकारीमाथि समेत हदैसम्मको सजाय माग गरेका छन्।

जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको एकल इजलासमा सुरु भएको बहसका क्रममा बिहीबार बादीकातर्फबाट चारजना सरकारी वकिलहरुले बहस गर्दै सुन काण्डमा जोडिएका कारोबारी, भरिया, सहयोगी प्रहरी अधिकारीदेखि शाक्यको हत्यापछि मुख्य आरोपी भगाउन सहयोगी बनेका प्रहरी अधिकारी दिवेश लोहनी र प्रजित केसीमाथि हदैसम्मको सजाय हुनुपर्ने माग गरे।

सम्बन्धित खबर : सिआईबी अपरेसन चलाउने, गाेरे विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहने

वादीकोतर्फबाट २ जना सह–न्याधिवक्ता, २ जना उप–न्याधिवक्ता, २ जना जिल्ला न्यायधिवक्ता र २ जना सहायक जिल्ला न्याधिवक्ताले बहस गर्दैछन्।

सह–न्यायधिवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उप–न्यायधिवक्ता हिमालय त्रिताल र मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा र पुण्यप्रसाद पाठक तथा सहायक जिल्ला न्यायधिवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्नेछन्।

बिहीबार सह–न्याधिवक्ता गोपालप्रसाद रिजाल र उप–न्याधिवक्ता मनोज आचार्य तथा जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका छन्।

संगठित अपराध गरेकाे दाबी

थुनछेक बहसका क्रममा सह–न्याधिवक्ता रिजालले संगठन बनाएर सुनको अवैध कारोबारमा संलग्न हुने क्रममा त्यही समूह भित्रका सदस्य सनम शाक्यको हत्यासँगै बाहिरिएको वास्तविकतापछिको अवस्थालाई लामो अध्ययनपछि दायर गरिएको अभियोगमा सबै अभियुक्त संगठित अपराधमा समान हैसियतमा रहेको बताएका थिए।

तर, सबै अपहरण तथा कर्तव्य ज्यानमा संलग्न नदेखिएका कारण सोही अनुसारको सजायको भागिदार बनाउन माग गरिएको छ।

सम्बन्धित खबर : खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

यसैगरी उप–न्यायधिवक्ता मनोज आचार्यले मुख्य नाइके मानिएका गोरेसँगको सम्पर्क भएको आधारलाई प्रमाण मान्दै सबैलाई सजाय आदेश माग गर्नु गरेका छन्। उनले अन्य समयमा मात्रै नभई सुन आएपछि र सुराक बुझ्ने क्रममा हत्या गरिएका शनम शाक्यको हत्यापछि समेत बारम्बार सम्पर्कमा बस्नुलाई मिलेमतो पुष्टि हुने दाबी गरेका थिए।

जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले सुनको संगठित अपराधमा संलग्नहरुसँग प्रहरीका अधिकारीले वहालमै रहँदा बारम्बार मोवाइल सम्पर्क गरेको ‘कल डिटेल’बाट अपराधमा संलग्नता पुष्टि हुने उल्लेख गरे।

उनले मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ सहितको टोलीले शनम शाक्यको हत्या हुनु पूर्व बहालवाला प्रहरी अधिकारीहरु विकास राज खनाल, श्याम खत्री, बालकृष्ण सन्जेल र गोविन्द निरौलासँग बारम्बार सम्पर्क भएको कल डिटेलमा देखिएको बताएका थिए।

गाेरेका ८ माेबाइलबाट प्रहरीसँग बारम्बार सम्पर्क

यसैगरी अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेलको मोवाइलमा शनमको हत्या भएपछि तस्वीर पठाइएको भए पनि सम्बन्धित जिल्लाका प्रहरी अधिकारीलाई नभनी महाशाखाको टोली ८ घण्टा लगाएर आउनुमा बद्नियत झल्कने दावी गरिएको छ ।

सई सन्जेलसँग मुख्य अभियुक्त गोरेले सनमको हत्या अगाडि र पछाडिको समयमा १७ पटक सम्पर्क गरेको देखिएको छ। गोरेले चलाउने गरेका ८ वटा मोवाइल नम्बरबाटै गोविन्द निरौला, विकासराज खनाल, सन्जय राउत, बालकृष्ण सन्जेललाई बारम्बार सम्पर्क भएको देखिएबाट संलग्नता पुष्टि हुने पाठकले तर्क गरे।

सम्बन्धित खबर : सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’

सरकारी वकिलहरुले सरकारले गठन गरेको छानविन समिति र प्रहरीले गरेको अनुसन्धानका क्रममा प्राप्त भएका भिडियो, अडियोसहित सीसी क्यामेरा फुटेजलाई इजलासमै देखाउने र सुन्ने व्यवस्था हुनुपर्ने माग समेत गरेका छन्।

उनीहरुले जफत गरिएको हिसाब खातामा रकम बुझेको मिति र विदेशबाट सुन आएको मिति मिलेको समेत दावी गरे।

शाक्यको हत्यापछि अपराध अनुसन्धान महाशाखाको टोलिले सम्बन्धित जिल्लाको प्रहरीलाई खबर गरेको अवस्थामा मुख्य अभियुक्तसहित घटनास्थलमा रहेका १४ जना अभियुक्त पक्राउ पर्न सक्ने अवस्था हुँदाहुँदै त्यसो नगरिनुले सजायको माग गर्ने समेत वकिलहरुको राय थियो।

अदालतमा मुद्दा दर्ता गरिएका ६३ जना अभियुक्तमध्ये ३० जनाको तर्फबाट ७८ जना कानुन व्यवसायीले वकालातनामा भराएको स्रेस्तेदार नवराज दुलालले नेपालखबरलाई बताए। सरकारी वकिलहरुको बहसपछि प्रतिवादी बचाउ गर्दै कानुन व्यवसायीहरुले बसह गर्नेछन्।

सुनकान्डमा नेपालखबरकाे निरन्तर फलाेअप:

१. प्रहरीकाे ‘अफ ट्रयाक’ अनुसन्धानका अनुत्तरित प्रश्न

२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा

८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ

९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति

१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र

११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ

१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

१३. ६ वर्ष यताका सुन कान्डका पाेकाे फुकाउँदै समिति

१४. सुन तस्कर गोरे–प्रहरी संवाद अदालत पेश गरिने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com