साढे ३३ केजी सुन गयाब प्रकरण: दुबईमा सुन किन्नेकाे विवरण पर्खंदै समिति
प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार
सुन तस्करीको संगठित अपराध अनुसन्धान गरिरहेको सरकारी समितिले संयुक्त अरब इमिरेटस (युएई) सरकारसँग सुन नेपाल भित्रिएको तथ्यांकसहितको विस्तृत विवरण मागेको छ।
अनुसन्धान सुरु गरे लगत्तै दुबई पुगेर शंकास्पद व्यक्ति पक्राउका लागि पहल गरेको समिति यतिबेला पत्राचारमार्फत सुन खरिद र विमानस्थलमा कर तिरेको विवरण संकलनमा जुटेकाे हाे।
‘युएई सरकारले सुरुदेखि नै समितिलाई सहयोग गर्दै आएको छ’, समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘हामी सुन खरिद भएको पसलदेखि र विमानस्थलमा कर तिरेको विस्तृत विवरणको अन्तिम पर्खाइमा छौं।’
समिति स्रोतकाअनुसार अदालतमा बुझाएको विवरण मितिमा सुन लिन गएका ब्यक्ति, सुन खरिद भएको र विमानस्थलमा भन्सार बुझाएर नेपाल उडेको विवरण युएई सरकारले उपलब्ध गराउने भएको हो। समितिले सुन ओसारपसारमा प्रत्यक्ष संलग्न रहेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की, रोहित आर्चाय, लाक्पा शेर्पा, माधव भन्ने मदन घिमिरे, टुकराज राना मगर सहितको ट्राभल डिटेलअनुसार सुन भित्रिएको विवरण मागेको हो। अनुसन्धानका क्रममा उनीहरु सुन ओसारपसारका लागि पटक–पटक दुबई काठमाडौं आउँजाँउ गरेको देखिएको छ।
सम्बन्धित खबर : सिआईबी अपरेसन चलाउने, गाेरे विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहने
उनीहरुले आफ्नै नाममा सुन खरिद गरेको प्रारम्भिक जानकारी समितिले पाएको छ। युएई सरकारले अदालती प्रयोजनका लागि आधिकारिक जानकारी आईतबारसम्म पठाउने अपेक्षा समितिको छ। ‘आइतबारसम्म हामीले सबै विवरण पाइसक्छौं’, स्रोतले भन्यो।
अनुसन्धानमा फेला परेका १० थान लेजरमा १९ महिनामा ३७६६ किलोग्राम सुन नेपाल भित्रिएको भेटिएको थियो। सुन भित्रिएको मितिमा ल्याउने ब्यक्ति दुबईबाट उल्लेख गरिएकै विमानमा नेपाल उत्रिएका थिए। त्यसबाहेक सोही मितिमै सुन बुझाइएको भनिएका व्यापारीको बैंकिङ कारोबार गरेको देखिएको छ।
‘अध्यागमन रेर्कडले गएको आएको देखाउछ, लेजरले सुन आएको र रकम लिएको दिएको देखिन्छ, बैंकिङ कारोबार सोही मितिमा बारम्बार भएको छ,’ स्रोतले भन्यो। ‘हामीले युएईबाट मगाएको विवरणमा सुन ओसार्न जाने ब्यक्तिले आफ्नै नाममा सुन खरिद र भन्सार बुझाएको तथ्य छ,’ स्रोतले थप्यो ‘यसले सुन आएको, विभानस्थल पार भएको र बजारमा पुगेको तथ्य स्थापित गर्नेछ।’
समितिले अनुसन्धानकै सुरुवातमा दुबईमा बसेर सुन तस्करीको संगठित सञ्जाल चलाइरहेका चार मुख्य आरोपी पक्राउका लागि नेपालस्थित युइई राजदूतावासमा सम्पर्क गरेको थियो। समितिका सदस्यले राजदूत सईद हमदान अल नकवीलाई भेटेर नेपाली टोली दुबई पठाउने बिषयमा छलफल गरेको थियो। राजदुत सईद यस विषयमा सकारात्मक छन्।
समिति सदस्य रहेका सुदिपराज पाठक र अर्का एक जनालाई पठाउने तयारी गरे पनि अन्तमा मान्छे पक्राउ गरेर ल्याउनका लागि युएई सरकार तयार नहुँदा भ्रमण स्थगित भएको थियो। हाल समितिले २६ जनाभन्दा बढी सुन तस्करीमा संलग्न ब्यक्तिको विवरण युएई सरकारलाई उपलब्ध गराएको छ। उनीहरुलाई नेपाल ल्याउन कुटनीतिक च्यानलबाट प्रक्रिया सुरु गरिसकेको छ।
सम्बन्धित खबर : खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक
गायब साढे ३३ किलो सुन
पक्राउ प्रतिवादीहरुले मोरङ प्रहरी, अनुसन्धान समिति र अदालतमा दिएको बयानमा मृतक सानु बनले सुन विमानस्थलबाट अनामनगर ल्याउँदा अनामनगरमा मोटरसाईकलमा आएका लुटेरा समुहले लुटेको बयान दिएका छन्। त्यो लुटेरा समुहको खोजीमा रहेको समितिले शंकाको घेरामा प्रहरी अधिकारीहरुलाई समेत राखेको छ।
बयानमा खुलाइएको लुटिएको भनिएको स्थान, लुटन प्रयोग भएको शैली र प्रयोग भएका मोटरसाइकल लगायतका विवरणले सुन लुटियो कि समुहका सदस्यबाटै बद्मासी भएको हो भन्ने यकिन हुन सकेको छैन।
सुनको खोजीमा रहेका समितिका सदस्यले घटना भएको भनिएको समयमा सो स्थानमा देखिएका मोबाईलको रेर्कड समेत हेरिरहेको छ।
‘सुन बजारमा पुगेर खपत भएको वा कतै लुकाएर राखिएको दुबै हुनसक्छ, केही दिनमै त्यसको विवरण समेत आउनेछ, हामी धेरै नजिक पुगिसकेका छौं,’ समिति स्रोतले भन्यो।
भन्सार र अध्यागमन नपुग्दै सुन फुत्काएको निष्कर्ष
सरकारले गत चैत २० को मन्त्रिपरिषद्बाट अनुसन्धान टोली गठन गरेपछि उसले २४ दिनमात्र फिल्डमा काम गरेको थियो। जसमा विमानस्थलबाट सुन भित्राउने विमानस्थल अधिकारी र विमान कर्मचारी, सुन ल्याउने भरिया र सुन खरिद तथा लगानीगर्ने ब्यक्ति सहित २३ जना पक्राउ परेका छन्। अदालतमा पेश भएका ३० मध्ये ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो।
सम्बन्धित खबर : सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’
समितिले प्रधानमन्त्री ओली, गृहमन्त्री थापा र गृहसचिव प्रेमकुमार राईलाई दोस्रो पटक गरेको बिस्तृत ब्रिफिङमा सुन ल्याउन लगानीगर्ने समुहमा रहेका सुन व्यवसायी प्रमोद श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेन्द्र शाक्य, महाबिर गोल्यान, एमके भन्ने मोहन अग्रवाल, चेतन भण्डारी र पवन अग्रवाल रहेको जानकारी गराएको हो।
समितिले गरेको ब्रिफिङमा दुबईमा रहेका ब्यक्तिहरुमार्फत यो समुहको लगानीमा सुन नेपाल भित्रने गरेको र त्यसको व्यवस्थापन गोरे भन्ने चुडामणिले गर्ने गरेको बताएका थिए।
पहिलो चरणको अनुसन्धानमा सुन विमानस्थल भन्सार र अध्यागमन नपुर्याई प्रहरी र विमानस्थल कर्मचारीको सहयोगमा बाहिरिने गरेको तथ्य खुलेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले २१ पुस २०७३ मा बरामद गरेको सुन भन्सारका कर्मचारीको सहयोगमा बाहिरिने गरेको थियो। एकआपसमा नमिल्ने यो समुहमा सिआईबी कारवाहीपछि अघिल्लो समुहका केही सदस्य समेत मिसिएर सुन तस्करी भै रहेको हो।
समितिले दोस्रो चरणको अनुसन्धानमा गायब भएको सुन खोज्ने, फरार प्रतिवादी पक्राउ र सुन तस्करी र हुण्डी कारोबारमा संलग्नहरुको खोजी गर्नेछ।
‘अनुसन्धानमा कोही कसैको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग, तस्करीको लाभमा हिस्सेदारी वा कारोबारमा लगानी देखिए सबैलाई कारवाहीको दायरामा ल्याउन सरकारले निर्देशन दिएको छ, सोही अनुसार काम भै गरिरहेका छौं,’ समितिका एक सदस्यले भने।
सुनकान्डमा नेपालखबरकाे निरन्तर फलाेअप:
१. प्रहरीकाे ‘अफ ट्रयाक’ अनुसन्धानका अनुत्तरित प्रश्न
२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’
३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)
४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा
५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा
६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या
७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा
८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ
९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति
१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र
११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ
१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
१३. ६ वर्ष यताका सुन कान्डका पाेकाे फुकाउँदै समिति
१४. सुन तस्कर गोरे–प्रहरी संवाद अदालत पेश गरिने
१५. सुन प्रकरणकाे अदालती बहस: गोरेसँग डिआईजी, एसपीकै ‘क्लोज कनेक्सन’