मोदीको नेपाल भ्रमणप्रति कांग्रेसको आपत्ति
प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणमा नेपालमा रहनुभएको छ ।
उहाँले शुक्रबार जनकपुरबाट सुरु गर्नुभएको भ्रमणलाई धार्मिक बताउनुभएको छ । मोदीले जनकपुरमा आफू प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा नेपाल भ्रमणमा आएको बताउनुभएको थियो । उहाँले जानकी मन्दिरसँगै मुक्तिनाथ र पशुपतिनाथको पनि दर्शन गर्नुभएको छ ।
यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा यस्तो संयोग परेको छ कि उता भारतको कर्नाटकमा विधानसभा चुनाव भैरहेको छ । २२२ सिट रहेको कर्नाटकमा भारतीय जनता पार्टीले कांग्रेसलाई विस्थापन गर्ने दाउमा रहेको छ ।
उता चुनाव भैरहेको छ भने यता मोदी विभिन्न मठमन्दिर धाइरहनुभएको छ । यसलाई कतिपयले एक तिर दुई शिकारका रुपमा पनि लिएका छन् । उता आचारसहिँता लागेकोले मोदीले नेपालबाटै अदृश्य रुपमा चुनावलाई प्रभावित पार्न खोजेको बताएका छन् । अर्कोतर्फ नेपालसँग चिसिएको सम्बन्ध पनि सुधार गर्ने दाउमा मोदी रहेको टिकाटिप्पणी गरिएको छ ।
भारतीय कांग्रेसले भने मोदीले प्रचारप्रसारको सजिलो उपाय खोजेको आरोप लगाएको छ । चुनाव आचारसंहिता उल्लंघन नगरिकन सञ्चार माध्यममा चर्चा बटुल्ने रणनीति मोदीले अपनाएको आरोप कांग्रेसले लगाएको छ ।
कांग्रेस महासचिव अशोक गहलोतले प्रधानमन्त्री मोदीले कर्नाटकको चुनावलाई प्रभावित पारिरहेको आरोप लगाएका छन् ।
कर्नाटक विधानसभा चुनावको मतपरिणाम मे १५ मा आउनेछ ।