विवेकशील साझाका प्रदेश संयोजकसहित ८ जना पक्राउ
प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार
विवकशील साझा पार्टीका पाँच नम्बर प्रदेशका संयोजक अनुपमान सैँजुसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीले नाकाबन्दीमा गरेको गल्तीमा माफी माग्नुपर्ने भन्दै बुटवलमा ब्यानर बोेकेर प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनाउनुभएको छ ।
उनीहरुले ‘मोदीलाई नेपालमा स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखिएको ब्यानर लिएर प्रदर्शन गरिरहेका थिए ।
पक्राउ परेका अन्यमा हरिकृष्ण अधिकारी, सुवास लामिछाने, निलम अधिकारी, अनिल काफ्ले, मीन तिवारी, अर्जुन गिरी, विष्णु मिश्र रहेका छन् ।
यसअघि शुक्रबार विवेकशील साझा पार्टीले ललितपुरमा रहेको केन्द्रीय कार्यालयमा ब्यानर टाँगेपछि प्रहरीले हटाएको थियो । दुईपटकसम्म आफूले राखेको ब्यानर हटाएपछि विवेकशीलले बेलुनमा ब्यानर झुण्ड्याएर उडाएको थियो ।