भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा परराष्ट्र नीति उल्लंघन भएको प्रधानमन्त्री ओलीको निष्कर्ष
प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा परराष्ट्र नीति उल्लंघन भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुई नम्बर प्रदेशको नागरिक अभिनन्दनमा राष्ट्रिय र कुटनीतिक मर्यादा उल्लंघन भएको बताउनुभयो ।
मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका विषय राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको उहाँको ठम्याई छ ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय स्वाभिमानलाई आँच आउने कुनै पनि काम नगरेको समेत दावी गर्नुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटलाई राष्ट्रियतासँग जोडेर हेरिएको प्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय स्वाधीनता र स्वाभीमानमा सरकारको अडान यथावत रहेको बताउनुभयो ।
उहाँले भारतसंग सन्तुलित सम्बन्ध कायम गर्न चाहेको बताउदै कुनै छिमकीसंग दुष्मनी नचाहेको पनि प्रष्ट पार्नुभयो ।