माेदीसामु प्रदेश- २ का मुख्यमन्त्रीले दिएकाे अभिव्यक्ति सच्याउन भीम रावलकाे माग
प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु दिएकाे अभिव्यक्ति सच्याइनुपर्ने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माग गरेका छन् । सांसद समेत रहेका भीम रावलले माेदीकाे नेपाल भ्रमणका सिलसिलामा प्रदेश- २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सच्याउन माग गरेका हुन् ।
अाज (सोमबार) काे प्रतिनिधिसभाको बैठकमा बाेल्दै रावलले भारतीय प्रम माेदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताए । विशेष समय लिएर बोलेका उनले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराएका हुन्
जनकपुरमा भएको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति कूटनीतिक मर्यादासमेत उलंघन हुनेगरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गरेका हुन्। छिमेकी देशका प्रधानमन्त्री आएका बेला मुलुकलाई कमजोर बनाउने खालको अभिव्यक्त आएकोमा उनकाे अापत्ति रह्याे ।
रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिकाे पनि घाेर निन्दा गरेका छन् । उनले सो अभिव्यक्ति फिर्ता लिन पनि सांसद आजादको गम्भीर ध्यानाकर्षण गराए। मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय जनता पार्टीका सांसद आजादले ‘जनकपुरलार्इ भारतमा फिर्ता गर्नुपर्छ’ भन्ने अाशयकाे ट्विट गरेका थिए।
नेपालको अस्मितमाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाई कुनै पनि नेपालीलाई सैह्य नहुने चेतावनी पनि दिए। एमालेले आजादको भनाइप्रति आपत्ति जनाउँदै आइतबार नै एक प्रेस विज्ञप्ति जारी गरिसकेको छ।