अब केका लागि पत्रकारिता गर्ने ?


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

नलेखौं, मनले मान्दैन। लेखौं, लेखेका कुराहरू न जनताले मनन गरेका देखिए, न त नेताले नै ? पर्याप्त स्रोत–साधन नभएको देशले संघीयता धान्न सक्दैन भनी कति लेखियो कति। आखिर जनताले नमागेको भए पनि देश संघीयतामा गएरै छाड्यो। अब त संविधानमै लिपिबद्ध भइसकेको छ। भलै अहिले आएर प्रदेशका सबै मुख्यमन्त्रीहरू विनास्रोत–साधन हामी प्रदेशको विकास गर्न सक्दैनौं भनी रोइरहेका किन नहुन्। भर्खरै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु रावतको रवैयापछि प्रधानमन्त्री केपी ओली सदनमा आई रोएर मात्र के हुन्छ ? यो त सिनेमाको ट्रेलर मात्र हो, पूरै सिनेमा हेर्न त बाँकी नै छ।

फेरि जुन नेता भ्रष्ट भनी लेखिन्छ, चुनावमा त्यही नेता अत्यधिक मतले जितेर आइरहेका हुन्छन्। जे कुरा नदोहोरियोस् भनी जनचेतना जगाउन खोज्छु, जनता ठीक त्यस विपरीत काम गरिरहेका हुन्छन्। भोट दिने बेलामा राम्रोभन्दा आफ्नो मान्छे छानेर पठाउँछन्। पछि देश र जनताका लागि केही गरेनन् भन्दै तिनै नेतालाई सरापिरहन्छन्।

आफ्नो लेख प्रकाशित भएपछि टेलिफोन, मेसेज र फेसबुकमार्फत शुभचिन्तकबाट प्राप्त हुने समालोचनाबाट केही आत्मसन्तुष्टिका साथै प्रेरणा त मिल्छ, तर आफूले लेखेका कुराबाट जनतामा केही चेतना जागोस्, सरोकारवालामा जिम्मेवारी बोध होस् भन्ने आफ्नो उद्देश्यले भने ३५ वर्षको निरन्तर पत्रकारिताबाट पनि सार्थकता पाउन सकेको महसुस गर्न सकिरहेको छैन। तैपनि केही दिनयता नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुरालाई लिएर फेरि अनावश्यक जुहारी चलेको देखेपछि बन्द गरिसकेको कलमको बिर्को पनि नखोली बस्नै सकिनँ।

विगत ६५ वर्षदेखि आगो–पानीजस्ता देखिने उत्तर कोरिया र दक्षिण कोरिया मिलिसकेको पनि दुई हप्ता बितिसकेको छ। सन् १९५० मा दुई कोरियाबीच ३ वर्षसम्म चलेको भीषण युद्धपछि पानीसमेत नचल्ने जस्तो गरी शत्रु बनेका दुई फरक ध्रुवका उत्तर कोरियाली कम्युनिस्ट नेता किम जोङ उन र दक्षिण कोरियाका प्रजातन्त्रवादी राष्ट्रपति मुन जे इनले टेलिभिजनमा गर्मजोशीका साथ हात मिलाइसकेका छन्। यता हामीकहाँ भने एउटै विचारधाराका दुई कम्युनिस्ट नेता केपी ओली र पुष्पकमल दाहाल मिल्न महाभारत भइरहेको छ।

केही वर्षअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निमन्त्रणामा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा सहभागी हुन जाँदा हालै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनले हात मिलाएको दुई देशबीचको सिमानामा यस स्तम्भकारलाई पनि पुग्ने अवसर मिलेको थियो। दुई कोरियाबीचको सिमानामा पुगेपछि यस स्तम्भकारको आँखामा एउटा अजीव तर कहालीलाग्दो दृश्य देखा परेको थियो। दक्षिण कोरियाको सिमानामा दुई जना पुरुष र महिला उत्तर कोरियातिर फर्केर छाती पिट्दै डाँको छाडेर रोइरहेका थिए। यसरी आफ्नो देशको सिमानामा बसी अर्को देशमा हेरेर रोइरहेका कोरियालीलाई अचम्म मानेर हेरिरहेकाले होला, यस स्तम्भकारको विशेष अनुरोधमा सीमा अवलोकनको अवसर जुटाइदिने कोरियन मित्र इस्टन लीले उनीहरू यसरी रुनुको रहस्य बताइदिएकी थिइन्।

सन् १९५० मा दुई कोरियाबीच भइरहेको भीषण युद्ध अन्त्यका लागि अचानक भएको सम्झौतापछि उत्तर कोरियातर्पm रहेका मानिस दक्षिण कोरिया आउन नसक्ने र दक्षिण कोरियातर्प रहेका उत्तर कोरिया जान नसक्ने भएपछि त्यस बेला छुटेका आफन्तलाई सम्झेर यसरी सिमानामा आई थुप्रै कोरियन रुने गर्छन् भनी लीले सुनाएकी थिइन्।

दुई कोरियाबीच युद्ध अन्त्य गर्ने सम्झौतापछि लाखौं कोरियाली परिवारले बिछोडिनुपरेको र मित्र लीका समेत आफ्नै काकाहरू पनि त्यस बेला उत्तर कोरियातिर परेका कारण छुट्टिनु परेको दुःखद घटना उनले सुनाएकी थिइन्। उनीहरू अहिले ज्यूँदा छन् कि मरिसकेका छन् भन्ने कुरासमेत आफूहरूलाई थाहा नभएको लीले बताएकी थिइन् ।

बेला–बेलामा दुई देशको सहमतिमा बिछोडिएका परिवारलाई भेट्न अवसर दिइने कुरा लीले सुनाइसकेपछि मात्र बल्ल आफ्नो दिमागमा पनि कहिलेकाहीँ अखबार र टेलिभिजनमा रुवाबासी गर्दै अंकमाल गरिरहेका कोरियनको भावुक दृश्य घुम्न थालेको थियो। लीको सबै कुरा सुनिसकेपछि भावुक हुँदै दुई कोरियाबीच छिट्टै मिलन होस् भनी सीमामा टाँगिएको कपडामा शान्तिको सन्देश लेखेर फर्केको यति छिट्टै दुई कोरियाली नेताले हात मिलाऊलान् भनी यस स्तम्भकारले कल्पना पनि गरेको थिएन।
केही समयअघिसम्म पनि दुई कोरियाबीचको तनावले कतै तेस्रो विश्वयुद्ध निम्तिने त होइन भन्ने आशंका थियो। यसरी आगो–पानीजस्ता देश त मिल्न गइरहेका छन् भने चुनावअघि पत्रकार सम्मेलन नै गरी ‘हामी मिलेर अब नेपाललाई समृद्ध बनाउँछौं’ भनी बाचा गर्दै जनताको विश्वास जितेर चुनावमा दुई तिहाइ बहुमत हासिल गरिसकेपछि अहिले आएर केपी ओली र पुष्पकमल दाहालको नौटंकी कतै नेपाली जनतामाथिको चरम विश्वासघात त होइन ? सबैमा शंका उठ्नु स्वाभाविक नै छ।

सारा नेपाली जनता दशैंमा रमाइरहेका बेला जनतालाई ‘सरप्राइज’ उपहार दिएको जस्तो गरी पार्टी एकता गर्ने घोषणा गरेको ८ महिना बितिसक्दा पनि एमाले–माओवादी एकता हुन्छ कि हुँदैन, हुन्छ भने कहिले हुन्छ, हुने भए कसरी हुन्छ, नहुने भए किन हुँदैन ? अब यो मितिमा पार्टी एकताको घोषणा हुन्छ भनेर मिति तोक्नु जरुरी छैन ? ओली र प्रचण्डबीच तीनवटा मात्र कुरा मिल्न बाँकी छन्।

फेरि ओली र प्रचण्डबीच बराबरीमै कुरा मिलेन, ओली–दाहाल खटपट, वाम एकता कहिले घाम कहिले पानी, ओलीको ट्विटले वाम एकता भाँडिने, ओलीको ट्विटबारे प्रचण्ड–ओलीबीच गम्भीर छलफल, ट्विटबारे ओलीसँगको छलफलपछि प्रचण्ड सन्तुष्ट, अब वाम एकता हुने, फेरि नहुने भो, मोदीको भ्रमणले पार्टी एकतामा विलम्ब, मोदीको भ्रमणमा माओवादी मन्त्रीहरूको अपमान आदि इत्यादि अनुत्पादक समाचार सुन्न, पढ्न र हेर्न विवश छन् अहिले नेपाली जनता।

वाम एकताको नारासँगै चुनावमा होमिएपछि दुई तिहाइ बहुमत दिएर नेपाली जनताले यी दुई नेतालाई राजनेता बन्ने ठूलो अवसर दिएका हुन्। यस स्तम्भकारले मिति २०७४ पुस १४ गतेका दिन नेपाल समाचारपत्रको प्रथम पृष्ठमै ‘ओली र दाहालको राजनेता बन्ने अवसर’ शीर्षकमा समाचार टिप्पणी लेखेर यी दुवै नेतालाई यो कुराको स्मरण नगराएको पनि होइन। तर देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्दा व्यक्तिगत स्वार्थ, सत्ता, लोभलालच, खुराफाती, षड्यन्त्रको राजनीति गर्न पल्केका नेपाली राजनीतिमा देखिएका तथाकथित नेताहरूबीचको विश्वासको खाडल नै यी दुई नेताबीच मिलनको समस्या हो भन्ने कुरा बुझ्न अब ढिलो गर्नुहुँदैन जस्तो लाग्छ।

राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो, त्याग हो, इमान हो, नेताहरूबीच एकआपसको विश्वास हो। फौजदारी अभियोग लागेका सांसदलाई समेत निलम्बन गर्न नपाउने कानुन बनाउन लालायित यस्ता नेताबाट के हामीले यी कुराको अपेक्षा राख्न सक्छौं र ? के हामीले यी र यस्तै कानुन बनाऊ भनेर यिनीहरूलाई भोट दिएर पठाएका हौं। अरू त अरू, नेपाली मिडियाको ताल देखेर समेत कहिलेकाहीँ त पत्रकारिता नै छोडिदिऊँ कि जस्तो झोक चलेर आउँछ। पानी पिउन नपाएर जनता छट्पटाइरहेको अहिले होइन। मेलम्चीको नाममा वर्षौंदेखि जनताले धूलो खाइरहनुपरेको छ। सरकारी कार्यालयमा घूस नखुवाई केही काम हुँदैन। जनतालाई निष्पक्ष न्याय निसाफ दिलाउनुपर्ने अदालत, प्रहरीभित्रको कर्तुत टुलुटुलु हेरिरहनुपरेको छ।

न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाभित्र हुने यस्तै बेथिति र अनियमितताको उजागर गर्ने जिम्मेवारी बोकेकैले पत्रकारितालाई चौथो अंगको दर्जा दिएको हुनुपर्छ। तर, पछिल्लो समयमा पत्रकारिताको ताल हेर्दा सबैभन्दा निकम्मा यही पेसा हो कि जस्तो लाग्न थालिसकेको छ।

आवाजविहीनहरूको आवाज बन्नुपर्ने पत्रकारको कलम, क्यामरा, माइक त चौबीसै घन्टा जनताको समस्याको वरिपरि घुमिरहनुपर्ने होइन र ? तर अपवादका रूपमा केहीलाई छोड्ने हो भने अधिकांश नेपालका पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायत न्यु मिडियाका रूपमा चिनिएका पछिल्लो समयमा विकसित अनलाइन, फेसबुकसमेत फोहोरी राजनीति र तथाकथित नेताहरूकै वरिपरि घुमिरहने अनि पाठक–जनता पनि जिम्मेवार पत्रकारितालाई प्रोत्साहित गर्न छोडेर यस्तै समाचारमा रमाउने भएपछि केका लागि पत्रकारिता गर्ने ?

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com