मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु
प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार
मकालु एयरको जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए ।
९एन एजेयु कलसाइनको जहाज बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट गएको थियो। दुर्घटनास्थल सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ। डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताए।
जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो। बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए। तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो। टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।