एकीकृत पार्टीको विधान अनुमोदन, संरचना भंग गर्न एमाले र माओवादीको छुट्टाछुट्टै बैठक


प्रकाशित मिति : जेष्ठ ३, २०७५ बिहीबार

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले कार्यदलले प्रस्ताव गरेको विधान अनुमोदन गर्दै एकता प्रक्रियालाई निश्कर्षमा पु¥याएको हो ।

विधानअनुसार ४३ सदस्यीय एकीकृत पार्टीको स्थायी समितिमा एमालेका २५ र माओवादी केन्द्रका १८ तथा ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय सदस्य रहने छन् । यस्तै, ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइने छ ।

संयोजन समितिको निर्णय अनुमोदनका लागि दुवै पार्टीको बैठक बसिरहेको छ । एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटार र माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा बसिरहेको हो । दुवै दलले आ–आफ्नो सांगठनिक संरचना विघटन गरेपछि संयुक्त केन्द्रीय समितिको बैठक बसेर आजै निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्ने तयारी छ ।

नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक धारमा ल्याउने श्रेय पाएका एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २५ औं स्मृति दिवसको अबसरमा एमाले र माओवादी एकीकृत हुन लागेका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com