गृहकार्य नगरेको भन्दै कुटपिट, विद्यार्थीको टाउको फुट्यो


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् ।

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिए ।

कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिए ।

विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com