भागबण्डाले नेपाल कम्युनिष्ट पार्टीको एकता छिट्टै विखण्डन हुन्छ : नारायणमान बिजुक्छें
प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताउनु भएको छ ।
भक्तपुरमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गर्नुभयो । दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालीन स्वरुप नदेखिएको उहाँले बताउनु भयो । उहाँले रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देश नै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताउनु भयो । हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उहाँको दावी थियो । वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारीको आडमा चलेको जिकिर गर्दै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उहाँको भनाई थियो ।
उहाँले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकारले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताउनु भयो । उहाँले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटी देखिएको छ यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताउनु भयो । पञ्चायत जस्तै काँग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकबाद शैलीमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको उहाँले बताउनु भयो ।
बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदीनाला बेच्ने गरेता पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्ट पारेको पनि विजुक्छेको आरोप छ । मोदीको नेपाल भ्रमण उपलब्धिमुलक भन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको उनको भ्रमण लगतै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले प्रष्टाएको उहाँले बताउनु भयो । सिंहदरवारको अधिकार स्थानीय तहमा भन्ने भनाई सिंहदरवार भित्रै रहेको र यसलाई एमाले र माओवादीले चुनावी नाराको आकर्षण मात्र बनाएको आरोप पनि अध्यक्ष विजुक्छेको थियो ।