उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प
प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।
आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताउनुभएको हो ।
शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ । उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्व रुपमा प्रगति जारी रहेको छ ।
उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताउनुभएको थियो । तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ ।
सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो । साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।