वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट ओलीले दिए गणतन्त्रको व्याख्यान
प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र र गरिबी सँगसँगै जान नसक्ने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा अाज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी, शोषण, विभेद अन्त्यका लागि निर्वाचित स्थानीय सरकार तथा केन्द्र सरकार क्रियाशील रहेको दाबी गरे।
राष्ट्रिय एकता अभिवृद्धि हुँदै गएको बताउँदै प्रधानमन्त्री अाेलीले छिमेकीहरुसँगको सम्बन्ध सुदृढ भएको दाबी गरे। राष्ट्रिय अखण्डतामा खलल र अशान्तिको पक्षपोषण गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने उनले बताए।
आफ्ना सम्बोधनमा कहिले रामायण त कहिलै महाभारतका श्लोक सुनाउने प्रधानमन्त्री ओलीले मंगलबार बिहान टुँडिखेलमा आयोजित कार्यक्रममा सबैभन्दा पुरानाे वेद ऋग्वेदको एउटा ऋचा सुनाका थिए।
‘गणतन्त्र वास्तवमै लोकतान्त्रिक व्यवस्था हो। यसै कारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषय मात्र होइन, समग्र सामाजिक रुपान्तरणको विषय पनि हो। त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि सर्वजन हितायः सर्वजन सुखायः व्यवस्था हो।’
गणतन्त्रमा सबै प्राणी सुखी रहून् भन्ने सन्देश दिन प्रधानमन्त्रीले वेद ऋचाकाे साहरा लिएका हुन्। बुद्धले प्रयाेग गर्ने ‘भवतु सब्ब मंगलम’ अर्थात् सबै प्राणी सुखी रहून् भन्ने गाथा वेदबाटै प्रभावित भएकाे मानिन्छ। प्रधानमन्त्री अाेली प्राचीन ग्रन्थका श्लाेक साहरामा अाफ्नाे व्याख्यान प्रभावकारी बनाउन खप्पिस मानिन्छन्।