मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इनरुवा नगरपालिकाका प्रवक्ताद्वारा राजीनामा


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले राजीनामा दिनुभएको छ । वडा नम्वर ३ का अध्यक्ष समेत रहनु भएका गुरुङ स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित हुनु भएको थियो ।

नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएका गुरुङले नगर प्रमुखको एकलौटी निर्णय लाद्ने प्रवृतिका कारण आफुले सम्हाल्दै आएको नगर प्रवक्ताको जिम्मेवारी त्यागेको बताउनु भयो । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख राजन मेहताले विकास निर्माण लगायत अन्य योजना सञ्चालनका क्रममा आफुखुशी निर्णय लाद्न खोजेकाले नगर प्रवक्ता बनेर बस्नुको औचित्य नरहेको गुरुङको भनाई छ । गुरुङले दिएको राजीनामा नगरसभाले पारित गरेको छ ।

गुरुङलाई इनरुवामा हुन लागेको भैंसी सुन्दरी प्रतियोगिताको संयोजक समेत तोकिएको थियो । नगरपालिकाले गर्न लागेको सो प्रतियोगिता समेत मेयरको चुनावी एजेण्डा भएको र आफुहरुसँग सरसल्लाह नगरिएको भन्दै गुरुङले संयोजकको जिम्मेबारीमा समेत नरहने बताउनु भयो । गुरुङका अनुसार इनरुवा नगर कार्यपालिकामा एमालले विपक्षी दलको भूमिका निर्वाह गर्ने छ । उता प्रवक्ताको राजीनामाको विषयलाई नगर प्रमुख मेहताले पार्टीगत राजनीतिसँग जोड्न खोजिएको प्रतिकृया दिनु भएको छ ।

राजीनामा दिनु व्यक्तिगत विषय भएपनि जनप्रतिनिधिले निर्वाचित भएपश्चात दल र पार्टी भन्दा माथि सोचेर अघि बढ्न सक्नु पर्ने मेहताको भनाई छ । विकास निर्माण जारी रहेको अवस्थामा एक वर्षे कार्य मूल्याङकनलाई मिलेर अघि बढाउने समयमा प्रवक्ताको राजीनामा आएपनि नगर विकास लक्षित आफ्ना योजनाबाट पछि नहट्ने नगर प्रमुख मेहताको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com