तस्कर र भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेसन चलाउछु : गृहमन्त्री
प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तस्कर र भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेसन चलाउने बताउनुभएको छ । निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न थापाले पत्रकारहरुलाई आह्वान पनि गर्नुभएको छ ।
चितवनको सौराहामा आज नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उदघाटन गर्दै मन्त्री थापाले भने, ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने प्रतिगामीहरु भएको बताउनुभयो ।
गृहमन्त्री थापाले विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउन आवश्यक भएको बताउनुभयो ।
त्यस्ता ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग पनि गर्ने गृहमन्त्री थापाको भनाइ छ । तस्कर र भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गर्दै उनले श्रम नगरी अकुत सम्पती आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको बताउनुभयो ।